मध्यपुर,२ वैशाख। मध्यपुर थिमी क्षेत्रमा शनिबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो ।
पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर पमा नाइकेको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराउने गरिन्छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ ।
जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने परम्परा छ ।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।
बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्