गुलरिया (बर्दिया), २ वैशाख । दुई वर्षअघि बबई नदीमा आएको बाढीबाट घरबारविहीन बनेर शिविरमा आश्रय लिइरहेका परिवारको अझैसम्म पुनःस्थापना हुनसकेको छैन । विसं २०७१ साउन २९ गते आएको बाढीले बबई नदीको किनारमा बसोवास गरिरहेका ४७ घरपरिवारका करिब तीन सय जना विस्थापित भएका थिए ।
उक्त बाढीका कारण बर्दियामा ३४ जनाले ज्यान गुमाएका थिए भने १३ जना बेपत्ता भएका थिए । बाढीले तीन हजार ८५९ घर पूर्णरुपमा क्षति पुर्याएको थियो भने १३ हजार ५१७ घरमा आंशिक क्षति पुर्याएको थियो । अहिले सामान्य र आंशिक क्षति हुने आ–आफ्नो घर फर्केर पनि घरबार सम्हालिसके तर बाढीले घरखेत बगाइ उठीबास भएर शिविरमा नै बस्दै आएका बाढीपीडितलाई सरकारले पुनःस्थापना नगरिँदा उनीहरु कष्टकर जीवन बिताउन बाध्य छन् ।
शिविरमा बस्दै आएका गुलरिया नगरपालिका, रामपुर टप्परका ४७ घरपरिवार, बनियाभारका ९८ घरपरिवार र चेपाङका २१ घरपरिवार गरी १६२ घरपरिवार बाढीपीडितमध्ये गुलरिया नगरपालिका रामपुरका ४७ घरपरिवारको मात्रै पुनःस्थापना हुनसकेको छैन । अन्य शिविरमा रहेकाको पुनःस्थापना भइसकेको छ । आफनो घर जग्गा सबै बगाएपछि अहिले पालको बास भएको बताउछन् सविन्द्र शाही ।
बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लाका बाढीपहिरो प्रभावितलाई पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि मध्यपश्चिम क्षेत्रका सभासदहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । तर पनि आवास व्यवस्थापनअन्तर्गत रोकिएको अनुदान रकम निकासा नहुँदा बाढीपीडितले दुःख व्यहोर्नुपरेको छ ।
सरकारले बाढीपीडितका लागि भनेर विभिन्न चरणमा गरी ३२ करोड ५६ लाख २१ हजार ९०० रुपैयाँँ बाँडिसकेको जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति डिल्लीराम आचार्यले बताए । रासस
प्रतिक्रिया दिनुहोस्