रुपन्देही ३ वैशाख । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ ।भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् ।
स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका स्तूपाहरु लुम्बिनीको मुख्य आकर्षण हुन् भने बुद्धको जन्मस्थल मायादेवी मन्दिर भने लुम्बिनीको विशेष आकर्षणका रूपमा रहेको छ ।
माग्नेले स्वदेशी तथा विदेशी पर्यटकलाई नाङ्गा दुधे बालकलाई लिएर बसेका देखाएर पैसा माग्ने र पैसा नदिएको खण्डमा पर्यटकको खुट्टा ढोग्नेजस्ता क्रियाकलाप गर्ने गरेको देख्न पाइन्छ ।
साथै केही पैसा जम्मा भएपछि ती माग्नेले मदिरा ९रक्सी० पिएर फेरि त्यही तरिकाले माग्ने गरेको त्यहाँका माग्नेहरूको दिनचर्या बनेको छ । विश्व सम्पदा सूचीमा समेत सुचीकृत लुम्बिनीमा दिनानुदिन माग्नेको सङ्ख्यामा वृद्धि हुँदै आएको छ ।
यस विषयमा त्यहाँका सुरक्षा व्यवस्था हेर्दै आएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षा गार्डको नजर पुगे पनि उनीहरू मौन छन् ।
हामीहरूले जति भने पनि लुम्बिनी विकास कोष यो विषयमा छलफल नै गर्न चाहँदैन । ड्युटीमा रहेका एक प्रहरी जवानले गुनासो गरे । यसबारे लुम्बिनी बिकास कोषका कर्मचारीसँग सोधपुछ गर्दा उनीहरू बोल्न चाहेनन् ।
दिनहुँ हजारौँ पर्यटक आउने लुम्बिनीमा माग्नेहरूको अड्डा बन्दै जाँदा लुम्बिनीको प्रतिष्ठामा मात्र आँच नआई सिङ्गो नेपाल र नेपालीको प्रतिष्ठामा आँच आउने साथै विदेशी पर्यटकमा नेपालको बारेमा गलत सन्देश जाने हुँदा यस विषयमा सम्बन्धित सबैको ध्यान पुग्नु जरूरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्