काठमाडाै ४ वैशाख । राजश्व छलेर बेचेको आरोपमा प्रहरीले पोखराबाट ७२ लाख रुपैयाँ बराबरको एनसेल रिचार्ज कार्ड बरामद गरेको छ । वडा प्रहरी कार्यालय बैदामले पोखराको रत्नचोकस्थित एक घरबाट आइतबार ५० रुपैयाँका ७२ हजार र एक सय रुपैयाँका ३६ हजारवटा रिचार्ज कार्ड बरामद गरेको हो । प्रहरीले ५० र एक सय रुपैयाँ दरकै रिचार्ज कार्डको ३ वटा खाली बट्टा समेत बरामद गरेको छ ।
एनसेलको जोनल एजेन्ट प्राइम एक्सेस प्रालिले घरभाडामा लिएर एक हप्तादेखि रिचार्ज कार्ड खुद्रा विक्रेतालाई बेच्दै आएको थियो । वडा प्रहरी कार्यालय बैदामका इन्स्पेक्टर मोहनमणि अधिकारीले अवैध रुपमा राजश्व छलि भएर विक्री भइरहेको भन्ने सूचना प्राप्त भएको आधारमा छापा मार्दा रिचार्ज कार्ड भेटिएको बताए ।
उनले कम्पनी दर्ताको प्रमाणपत्र र रिचार्ज कार्ड खरिद र विक्री बिल नभएको जनाए । बरामद भएको रिचार्ज कार्ड आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालयलाई बुझाइने जानकारी उनले दिए ।
प्राइम एक्सेस प्रालिका लेखापाल राजेश श्रेष्ठले बागमति अञ्चलमा कम्पनी दर्ता भएकोले प्रमाणपत्र पोखरामा नभएको दाबी गरे । उनले खरिद खाता र विक्री खाता काठमाडौंबाट ल्याउनुपर्ने भएकोले ढिलाइ भएको बताए । ‘दर्ताको प्रमाणपत्र, खरिद खाता र विक्री खाता मगाइसकेका छौं,’ उनले भने, ‘एनसेलसँग एग्रिमेन्ट गरेर कार्ड बेचेका हौं ।’ प्रालिका प्रबन्ध निर्देशक बालकृष्ण न्यौपानेसँग भने सम्पर्क हुन सकेन । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्