Banner News

मधेसी मोर्चा र प्रधानमन्त्रीबीचको वार्ताः निर्वाचनमा मोर्चालाई सहभागी गराउने प्रयास



काठमाडौं,८ बैशाख । केही दिन अघि प्रमुख प्रतिपक्ष नेकपा एमाले सहित प्रमुख राजनीतिक दलहरुबीच भएको छलफलले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन गर्नेमा दलहरु निर्णयमा पुगे । प्रमुख राजनीतिक दलहरुको त्यो निर्णयसंगै निर्वाचनको तयारीले तीव्रता पाउन थालेको छ ।

बैशाख ३१ मा नै निर्वाचन हुन्छ भन्ने मानसिकताले काम गर्न थालेको छ । यसबीच निर्वाचन वहिष्कार गर्दै आएको मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहालले अझै पहल गर्ने प्रमुख दलहरुबीच भएको सहमति अनुसार आज मोर्चा र प्रधानमन्त्रीबीच छलफल भएको हो ।

यो बैठकबाट पनि मोर्चाले आफ्ना मागबाट टसकोमस भएन भने निर्वाचन अघि सम्भवत यो नै प्रधानमन्त्री दाहाल र मोर्चाका नेताहरुकाबीचको निर्वाचनमा सहभागिता जनाउने विषयमा अन्तिम छलफल हुन सक्छ । प्रधानमन्त्री दाहालले मेधेसी मोर्चालाई छलफल चलिरहेको छ । स्थानीय तहको निर्वाचन बहिस्कार गरेका मोर्चालाई निर्वाचनमा सहभागी गराउन सहमतिको प्रयासस्वरुप प्रधानमन्त्री दाहालले सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बैठक बोलाउनु भएको हो ।

साँढे आठ बजेपछि बस्ने बैठकमा मोर्चाका नेताहरुसँग संविधान संशोधन विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । बुधबार सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपालगायत पाँच दलसँगको छलफलमा नेताहरुले असन्तुष्ट दललाई निर्वाचनमा सहभागी गराउन हदैसम्मको प्रयास गर्न सुझाब दिएका थिए ।

शीर्ष नेताहरुको सुझाब बमोजिम प्रधानमन्त्रीले शुक्रबार मोर्चालाई आन्दोलन स्थगन गरी निर्वाचनमा सहभागी गराउन सहमतिको प्रयास थाल्नु भएको हो ।