Banner News

ओलीले प्रधानमन्त्रीलाई भने– ‘सहमतिको लिखित दस्तावेजको विषयवस्तु हेरेर मात्रै धारणा दिन्छौं



काठमाडौं, १० बैशाख । शनिवार मधेसी मोर्चासंग वार्ता गरेरपछि आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास वालकोटमा नै पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसंग ओलीले सहमतिको लिखित दस्तावेज माग गरेका छन् ।

हिजो भएको भनिएको मोर्चा र सत्तारुढ दलबीचको सहमति केवल मौखिक मात्रै थियो । प्रधानमन्त्री दाहालले आफूहरुले चुनाव दुई चरणमा गर्न मधेसी मोर्चासँग सहमति जनाएको र संविधान संशोधन गरेपछि मोर्चा पनि चुनावमा सहभागि हुने अध्यक्ष ओलीलाई भेट्का क्रममा जानकारी गराए ।

प्रधानमन्त्रीको कुरा सुनेपछि ओलीले दुई चुनावको बीचमा सरकारले नीति कार्यक्रम र बजेट ल्याउने अनि सरकार परिवर्तन गर्ने कुराले निर्वाचन आचार संहिताको ठाडो उल्लंघन हुने र निर्वाचनका सर्वमान्य सिद्धान्त विपरित हुने प्रधानमन्त्रीलाई वताएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसार ‘हामीसँग कुनै परामर्श नगरी सहमति गर्नु भयो, के सहमति गर्नु भयो अहिलेसम्म पनि हामीलाई थाहा छैन । अनि के आँखा चिम्लेर सहमति दिने हो ? ओलीले भने, ‘सहमतिको लिखित दस्तावेजमा विषयवस्तु हेरेर मात्रै धारणा दिन्छौं ।’

करिव १ घन्टा दाहालसँग बैठक गरेपछि संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्षओलीले घोषित चुनावलाई निर्वाचन आयोग र राजनीतिक दलसँगको परामर्शबिना दुई चरणमा बाँड्नु समाधान भन्दा जालझेल भएको वताए । ‘यो समाधानका लागि होइन, कसरी चुनाव टार्न सकिन्छ भन्ने जालझेल गर्न खोजिएको हो’ ओलीले भने, ‘नियत सफा देखिएन ।’