सम्पादकीय

एमालेको चेतावनीले सकसमा बजेट



काठमाडौं, ११ वैशाख । दोस्रो चरणको निर्वाचनअघि जेठ १५ गते बजेट ल्याउन नदिने प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनौतीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकसमा परेका छन् । बजेट ल्याउन प्रतिपक्षको विश्वास जित्ने उद्देश्यसाथ प्रधानमन्त्री दाहालले प्रस्तुत गरेको एजेन्डा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनी सकसमा परेका हुन् ।

‘बजेट जारी भएको १५ दिनपछि चुनाव गर्ने, त्यो बजेटमा चुनाव प्रचारका लागि थुप्रै कुरा राख्ने, त्यसैलाई प्रचार गर्दै जाने कुरा एमालेलाई स्वीकार्य हुँदैन’, प्रधानमन्त्री प्रचण्डसँग आफ्नै निवास बालकोटमा भेटेपछि ओलीले भने । सरकार जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यतामा छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनसँग शनिबार भएको सहमतिअनुसार आइतबारको मन्त्रिपरिषद् बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ ।

एक मन्त्रीका अनुसार जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था परिवर्तन गरी असार दोस्रो साता बजेट ल्याउने व्यवस्था गर्ने, जेठ १५ गते बजेटका सैद्धान्तिक पक्ष मात्रै राखेर असार दोस्रो साता औपचारिक बजेट प्रस्तुत गर्नेजस्ता विकल्पमाथि उच्च तहमा छलफल भइरहेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पनि यसबारे अनौपचारिक छलफल भएको थियो । संविधानमा भएको व्यवस्थालाई मन्त्रिपरिषद्ले फेरबदल गर्न सक्दैन । ‘जेठ ३१ गते चुनाव गर्ने हो भने त्योभन्दा अगाडि बजेट ल्याउन पाइँदैन’, ओलीले प्रधानमन्त्री प्रचण्डलाई प्रस्ट जवाफ दिएका छन् ।

स्रोतका अनुसार मधेसी मोर्चा र संघीय गठबन्धनसँग शनिबार छलफल हुँदा वैशाख ३१ को चुनाव दाहाल नेतृत्वको सरकारले गर्ने र जेठ ३१ को चुनाव कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गर्नेबारे पनि छलफल भएको थियो । तर, त्यो छलफल कुनै निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ