सम्पादकीय

ढुंगेलको खोजी गरिरहेका छौं : प्रहरी



काठमाडौं, ११ वैशाख ।  सर्वोच्च अदालतबाट सर्वस्वसहित जन्मकैद सजाय फैसला भई फरार भएका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउका लागि खोजी गरिरहेको छ । सात दिनभित्र पक्राउ गरी जानकारी गर्न अदालतले आदेश दिएपछि प्रहरीले यस्तो जवाफ पठाएको हो ।

सात दिनभित्र पक्राउ गरी कारागार चलान गर्न दिएको आदेशअनुसार खोजी नगरीकनै खोजी भइरहेको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले अदालतलाई आइतबार जवाफ पठाएको हो । प्रहरी प्रधान कार्यालयले बिदाबाहेक सात दिन पुगेकै दिन आइतबार २ बजे सो बेहोराको पत्र बुझाएको अदालत स्रोतले जनाएका छ ।

गत साता न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर ढुंगेलले सार्वजनिक अभिनन्दन लिँदै हिँडेको र अदालतको फैसलालाई पनि चुनौती दिएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो ।

तर, प्रहरीले केही दिन खोजी गरेजस्तो गरे पनि उनलाई पक्राउ नगरी खोजी गरिरहेको भन्दै पत्र दर्ता गराएको छ । यसबीचमा गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले बालकृष्ण ढुंगेल नेपालमै नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश दिएको थियो । सो आदेश गृहमन्त्रालय ह’दै प्रहरी कार्यालयमा पुग्दासम्म बालकृष्ण ढुंगेल काठमाडौंबाहिर गएको गृहराज्यमन्त्री बानियाँको भनाइ छ ।

अदालतले आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो जससँग समन्वय गर्नुपर्ने हो, त्यसमा कमी हुन नदिन सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरेको थियो । जहाँबाट सम्भव हुने हो, त्यहीँबाट आदेश गरी ढुंगेललाई पक्राउ गर्न भनिएको थियो । प्रहरीले आन्तरिक सेटमार्फत पक्राउ गर्न मातहत निकायलाई निर्देशनसमेत जारी गरेको थियो ।

तर, आइतबार प्रहरी प्रधान कार्यालयले खोजी भइरहेको भन्दै पत्र पठाएको छ । ‘प्रहरीलाई सात दिनको समय दिएको थियो,’ अदालतका एक कर्मचारीले भने, ‘मान्छे पक्राउ परेको पत्र आयो भन्ने लागेको थियो, तर खोजी भइरहेको भन्ने पत्र पो आयो ।’ राजधानीमा समाचार छ ।