मुस्ताङ, ११ वैशाख । घरपझोङ–४ ठिनीमा सम्पन्न दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविरबाट ९१२ ले स्वास्थ्य परीक्षण गराएका छन् ।
थकाली समुदायको बाहुल्य रहेको ठिनीमा सञ्चालित बाह्रबर्खे देवीदर्शन र मेलाको अवसरमा थकाली स्वास्थ्यकर्मी परिवार नेपाल, मनमोहन मेमोरियल अस्पताल, जिल्ला अस्पताल मुस्ताङ र मुस्ताङ सामुदायिक आँखा केन्द्रको संयुक्त आयोजनामा शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त सङ्ख्यामा सर्वसाधारणले सेवा प्राप्त गरेका हुन् ।
ठिनी स्वास्थ्यचौकीका प्रमुख कर्णबहादुर कार्कीले शिविरमा ९० जनाले फिजियो थेरापी, ६५ जनाले स्त्रीरोग, हाडर्जोनी, छाला र सर्जरीसम्बन्धी ५६७ जना र २९० जनाको आँखा परीक्षण गरिएको जानकारी दिए । यीमध्ये ८१ जनाको ल्याब टेस्ट, १११ जनाको भिडियो एक्सरे पनि गरिएको थियो, उनले भने, शिविरमा घासादेखि माथि मुक्तिनाथदेखि तलका सर्वसाधारण आएका थिए । शिविरका अवसरमा बिरामीलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
शिविरमा जिल्ला अस्पताल र थकाली स्वास्थ्यकर्मी परिवार नेपालबाट पाँच जना विशेषज्ञ डाक्टरको टोलीले सेवा प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्