राजनीति

निर्वाचन आयोगद्वारा स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत



काठमाडौँ, ११ वैशाख । निर्वाचन आयोगले पहिलो चरण वैशाख ३१ र दोस्रो चरण जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

आयोगद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनदेखि निर्वाचन चिह्न प्रदान गर्नेसम्मका कार्यक्रम संशोधन र दोस्रो चरणका लागि हुने निर्वाचन कार्यक्रम स्वीकृत गरिएको जानकारी दिए ।

आयोगका अनुसार पहिलो चरणको निर्वाचनको मनोनयन दर्ता र उम्मेदवारको सूची प्रकाशन यही वैशाख १९ गते, उम्मेद्वारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने वैशाख २० गते, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिने दिन वैशाख २१ गतेलाई तोकिएको छ ।

त्यस्तै, उम्मेदवारको आन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्य वैशाख २२ गते तथा मतदान वैशाख ३१ गते आइतबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ ।

दोस्रो चरणको निर्वाचनअन्तर्गत उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयन दर्ता भएका उम्मेद्वारको सूची जेठ १९ गते प्रकाशन गर्ने, उम्मेद्वारको विरोधमा उजुरी दिने र मनोनय जाँच जेठ २० गते, मनोनयन भएको उम्मेद्वारको नामावली प्रकाशित गर्ने र उम्मेद्वारले नाम फिर्ता लिने जेठ २१ गतेका लागि तय भएको आयोगले जनाएको छ ।

त्यस्तै, उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने जेठ २२ गते तथा मतदान गर्ने जेठ ३१ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मको कार्यक्रम आयोगले स्वीकृत गरेको जनाएको छ ।

मतदान सकिएपछि निर्वाचन अधिकृतले गाउँपालिका÷नगरपालिका वडाभित्रका सबै मतदान केन्द्रमा मतदान भएका सबै मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना सुरु हुने प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए।

मतगणना कार्य समाप्त हुनासाथ निर्वाचन परिणाम घोषणा हुनेछ । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले भने मतदाता निकै सजग र सचेत भएकाले दुई चरणको निर्वाचन हँदैमा दलगत मतपरिणाममा धेरै असर पर्दैन ।