काठमाडौं, १२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा टेबल भएको संविधान दोस्रो संसोधन विधेयकको समर्थन गर्न नसकिने बताएका छन् । संसदको आजको बैठकमा बोल्दै उनले विगतको भन्दा पनि यो विधेयक राष्ट्रिय हित प्रतिकुल रहेकाले एमालेले समर्थन नगर्ने बताए ।
उनले स्थानीय तहका प्रतिनिधिले राष्ट्रिय सभाका सदस्य चुन्न पाउने अधिकार कटौती गरेकोमा विरोध गरे । ओलीले संविधान संशोधन जति वेला मन लाग्यो त्यति वेला जेमा मन लाग्यो त्यसैमा गर्ने विषय नभएको उल्लेख गरे । रुपान्तरित संसदको काम निर्वाचन कानुन निर्माण गरी नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु रहेको उल्लेख गर्दै सो प्रक्रियामा बाधा भएमात्र संविधान संशोधन गर्न सकिने ओलीको भनाई थियो ।
सरकार र मधेसी मोर्चाबीच निर्वाचन दुई चरणमा गर्न भएको सहमतिको पनि उहाँले बिरोध गरे। उनले दोस्रो चरणको निर्वाचन भन्दा अगाडी बजेट ल्याउने विषय निर्वाचन आचारसंहिताविरुद्ध रहेको र जेठ १५ मा आउनु पर्ने बजेटको समय सार्नु पनि गलत हुने बताए । संविधान अनुसार चल्नुपर्नेमा सरकारले संविधानलाई आफु अनुकुल बनाउन खोजेको ओलीको भनाई थियो । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्