सम्पादकीय

कसले चलायो लोकमान आगमनको हल्ला ?



काठमाडौं, १३ वैशाख । आफ्नो ज्यान सुरक्षित हुने नदेखिएपछि देश छोड्न बाध्य भएका तात्कालिक अख्तियार प्रमुख लोकमानसिंह कार्की अझै स्वदेश फर्किन सकेका छैनन् । गत पुसमा सर्वोच्च अदालतका केही न्यायाधीशहरुको निर्णयबाट पदमुक्त गरिएका कार्कीको सुरक्षा व्यवस्था हटाइएपछि उनले देश छोडेका थिए ।

अख्तियार प्रमुखको जिम्मेवारीमा रहँदा सर्वाधिक सुरक्षा चुनौती रहेको ठहर गरी केपी ओली नेतृत्वको सरकारले कार्कीलाई आजीवन विशेष सुरक्षा उपलब्ध गराउने निर्णय गरेको थियो । तर जब उनलाई साँच्चै सुरक्षा दिनुपर्ने अवस्था आयो, त्यसपछि सरकारले सबै सुरक्षा–व्यवस्था हटाइदियो ।

विप्लव नेतृत्वको माओवादी कार्यकर्ताका रुपमा सर्वोच्च अदालत प्रवेश गरेका केही व्यक्तिले कार्कीलाई अदालतको कार्यकक्षमै मोसो पोत्नेजस्तो निन्दनीय कार्य गरेका थिए भने केही न्यायाधीशको निर्णयबाट पदमुक्त हुनुपरेपछि कार्कीविरुद्ध चौतर्फी आक्रमणको वातावरण बनाइएको थियो ।

पदमुक्त भएपछि अख्तियार परिसरमा रहेको निवास्थल छोडेर आफ्नो निजी निवासस्थानतर्फ सर्ने क्रममा पनि माओवादी विप्लवका कार्यकर्ताहरुले लोकमानमाथि आक्रमणको प्रयास गरेका थिए । पदमुक्त भएपछि आफ्नो भाइको घरमा शरण लिन पुगेका कार्कीले बारम्बर धम्की र अन्य प्रकारका चुनौतीको सामना गर्नुपरेपछि उनी भारततिर प्रस्थान गरेका थिए ।

भारतमा केही दिन रहेर युरोप हुँदै पश्चिमतर्फको यात्रामा गएका कार्कीले सुरक्षाकै कारण अहिलेसम्म स्वदेश फर्कने हिम्मत जुटाउन सकेका छैनन् । तर, केही दिनयता काठमाडौंमा लोकमानसिंह कार्की स्वदेश फर्केको भन्ने हल्लाचर्चा व्यापक भइरहेको छ । लोकमानसिंह काठमाडौं आएको भन्ने हल्लाचर्चा कहाँबाट, कसले, किन सुरु गराएको हो बुझ्न सकिएको छैन ।

कहिले क्यानडा त कहिले अमेरिका गरेर समय बिताइरहेका कार्कीले विभिन्न च्यानलमार्फत सरकारसँग आफूलाई सुरक्षा व्यवस्था गरिदिन माग गरिरहेका छन् । तर, उनको मागप्रति सरकारले अहिलेसम्म कुनै सरोकार राखेको छैन । जम्मा एकजना सिपाही निवासस्थानमा खटाइदिएर सरकारले आफ्नो कर्तव्य पूरा भएको ठानिरहेको छ । घटना र विचार साप्ताहिकमा समाचार छ ।