काठमाडौ, १३ वैशाख । आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । आजको दिन नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमाको सम्मानस्वरुप मातातीर्थ औँसी मनाउने गरिन्छ । वैशाख कृष्णऔँसीका दिन जीवित आमालाई मीठो खान, राम्रो लाउन दिई सम्मान गरिन्छ । दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गरी सम्झना गर्नेगरिन्छ ।
आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको छ ।
अनुसार शास्त्रका अनुसार बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ । ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ ।
जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ ।
प्रतिक्रिया दिनुहोस्