समाचार

मनमोहन सेन्टरले अत्याधुनिक भवन बनाएर सेवा विस्तार गर्ने



काठमाडौँ, १३ वैशाख । मुटु रोगको उपचार सेवामा सफलता पाउँदै गएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने भएको छ ।

आठौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा भवनमा अति विशिष्ठ व्यक्तिका लागि विशेष कक्ष व्यवस्था हुनाका साथै नेपालमै पहिलोपल्ट उच्चस्तरीय आधुनिक कक्ष रहने जानकारी दिइएको थियो ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्तरीय सेवा प्रदान गर्न आवश्यक पूर्वाधारका लागि मन्त्रालयले सहयोग गर्ने बताए ।

उनले भनेमनमोहन सेन्टरलाई यसैवर्ष आवश्यक स्रोतका लागि तत्काल सहयोग उपलब्ध गराउनेछ भने बाँकी स्रोत हामी आउँदो वर्षको कार्यक्रमबाट प्रदान गर्नेछौँ । देशका सबै स्वास्थ्य केन्द्रलाई शय्याका आधारमा नभई जनशक्ति, सेवा र भौतिक पूर्वाधारका आधारमा परिचित बनाउन काम गरिरहेका छौँ । यसका लागि सबैको साथ आवश्यक छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले नयाँ भवन दुई वर्षमा निर्माण कार्य सक्ने र सेवाको स्तर वृद्धि गर्नका लागि एउटामात्र ल्याबले नपुग्ने हुँदा आगामी आवबाट अर्को ल्याब थप्न लागिएको बताउनुभयो । त्यसका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पाइसकेको उनले जानकारी दिए ।

उनले भने – सेन्टरले सुविधा विस्तार गर्दै मुटु, फोक्सो र रक्तनलीको विधामा हुनुपर्ने प्रायः सबै सुविधा विस्तार गरेको छ । हामीले पश्चिमा देशमा दिइने सेवा यहीँबाट दिन सफल भएका छौँ । देशकै नमुना सेन्टरका रुपमा विकास गर्न हामीले हरसम्भव सेवा सुविधा थप्दै जाने योजना बनाएका छौँ ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले आइओएमको मनमोहन सेन्टरले शैक्षिक एवम् व्यवस्थापकीय पक्षमा उदाहरणीय काम गरेको बताइन ।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले मनमोहन सेन्टरका सेवा र सुविधा प्रशंसनीय भएको बताए ।

भास्कुरल सर्जन विभाग सिटिभिएस प्रमुख प्रा डा भगवान कोइरालाले सरकारले अस्थायी दरबन्दीमा चिकित्सकलाई राख्नेबारे छलफल गर्नुपर्ने अन्यथा सेवामा प्रभाव पर्ने बताए ।

स्व नेता मनमोहन अधिकारीको सम्झनामा स्थापना गरिएको मनमोहन सेन्टरले गतवर्ष करिब एक हजार ९०० शल्यक्रिया गरेको जनाएको छ । चालु आवमा रु १७ करोड आम्दानी गरेको मनमोहन सेन्टरले फार्मेसीबाट मात्र रु पाँच करोड कुल नाफा गरेको जनाएको छ ।