Banner News

एमाले र मधेसवादी दललाई लडाउने सत्ताको आयु लम्ब्याउने खेलमा प्रधानमन्त्री दाहाल



काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालको दोहोरो खेलका कारण मुलुकको राजनीति थप जटिल बन्दै बन्दैछ । प्रधानमन्त्री दाहाल समस्या समाधान गर्नेमा भन्दा पनि उल्टै समस्या बल्झाउने खेलमा लागेका छन् ।

उनका पछिल्ला गतिविधिलाई हेर्ने हो भने दाहाल प्रमुख प्रतिपक्ष एमाले र मधेसवादी दललाई लडाउँदै आफ्नो सत्ताको आयु जसरी भए पनि लम्ब्याउने खेलमा लागेको देखिन्छ । एमालेसंग सहमति गर्ने मधेसवादी दलका नेताहरुसंग फेरी आफूले त्यसो नगरेको भन्दै झूठ बोल्ने उनको कार्यशैलीका कारण राजनीतिक समस्याले निकास पाउन नसकेको हो ।

केही दिन अघि एमालेसंग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ । सत्ता गठबन्धन र एमालेबीच बुधबार स्थानीय तहको संख्या थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमति भएपछि मधेसी मोर्चाका नेताले बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए ।

११ जिल्लामा स्थानीय तह थप्ने सरकारको प्रयासबाट क्षुब्ध एमालेले संसद् अवरोध गरेको थियो । सरकार आफ्नो निर्णयबाट पछि हटेपछि बुधबार एमालेले संसद् चल्न दिएको थियो । सरकार र मधेसी मोर्चाबीच दुई नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा तथा ५ नम्बर प्रदेशका नवलपरासी, रूपन्देही र कपिलवस्तुमा नयाँ मापदण्ड बनाई स्थानीय तहको संख्या थप्ने सहमति भएको थियो ।

मोर्चासँगको बिहीबार बिहानको भेटमा प्रधानमन्त्री दाहालले एमालेसँग संख्या थप्ने निर्णय फिर्ता लिने सहमति नभएको भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए । प्रधानमन्त्रीको भनाइमा मोर्चाले विश्वास नगरेपछि सरकारले सर्वदलीय बैठक डाकेको थियो । सर्वदलीय बैठकमा सत्ता गठबन्धनमा सहभागी दल, मोर्चा र प्रतिपक्षी एमालेका नेताहरू सहभागी थिए ।