सम्पादकीय

१४ आरोही एकसाथ सगरमाथाको चुचुरोमा



काठमाडौं, २ जेठ । वसन्त मौसममा पहिलो पटक १४ जनाले नेपालको बाटो हुँदै सगरमाथा सफल आरोहण गरेका छन् । सोमबार १–१५ मा ११ जना गाइड र ३ आरोहण दलका सदस्यले चुचुरोमा पाइला टेकेका हुन् ।

गोरखा एभरेष्ट एक्सपीडिसन २०१७ आरोहणदल सदस्य बेलायतका गोरखा सैनिक कृष्ण थापा मगर, निर्मल पुरजा, धन्नी राई र सहयोगी गाइड पेमा छिरिङ, पेमछिरि, कान्छानुरु, लाक्पा गेलु, सोनाम जङबु, पासाङ शेर्पा, डेन्डी, टासी शेर्पा, ग्याबु भोटे र छिमी ल्हेण्डुप गुरुङले सफल आरोहण गरेको सम्पर्क अधिकृतका रुपमा खटिएका सरकारी प्रतिनिध ज्ञानेन्द्र श्रेष्ठले बताए ।

दक्ष गाइड मानिने पायोनियर एडभेन्चरका प्रमुख लाक्पा शेर्पालाई समेत गोरखा टिमले बाटो खोल्नका लागि प्रयोग गरेका थिए । खराव मौसमका कारण लामो समयदेखि क्याम्प चार भन्दामाथि बाटो बनाउन सकिएको थिएन । शनिबार र आइतबार पायोनियर एडभेन्चर ट्रेक प्रालि प्रमुख दक्ष गाइड लाक्पा शेर्पा र गोरखा एभरेष्ट एक्पीडिसनका शेर्पा गाइडको अथक प्रयासपछि बाटो तयारी गरी आरोहण सफल बनाएको हो ।

आरोही १४ जना यो मौसमकै पहिलो सगरमाथा आरोहण गर्ने टोली हो । समिट नेपाल ट्रेकिङ प्रालिबाट बाट आरोहण अनुमती लिएको यो आरोहणदलमा १३ जना सदस्य छन् । जसमध्ये बाँकी १० जनाले पनि आरोहणलाई निरन्तरता दिई रहेको बुझिएको छ ।

गोरखा एभरेष्ट एक्सपीडिसन २०१७ आरोहणदल सरकारी प्रतिनिधि सम्पर्क अधिकृत खडानन्द अधिकारी खटिएका छन् । अधिकारीसँग सम्पर्क हुन नसकेपछि अन्य आरोहणदलका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठलाई आरोहीहरुले फोनबाट जानकारी गराएका हुन् । हिमालय रेस्क्यू एसोसिएसनका लाक्पा नुर्वु शेर्पालाई समेत चुचुरोबाट स्याटलाइट फोनमार्फत् जानकारी गराएको छ । आरोहीहरु शनिबार बिहानै चुचुरो तर्फ हिडेका थिए ।

क्याम्प दुई भन्दामाथिको बाटो निर्माणको जिम्मा लिएको पर्वातारोहण सञ्चालक संघले आधारशिविरमा बैठक गरी जेठ ४ गते सम्ममा क्याम्प ४ देखि चुचुरो सम्मको बाटो निर्माण गर्ने निर्णय गरेको थियो । संघले प्रत्येक आरोहीबाट बाटो बनाउने भन्दै दुई सय अमेरिकी डलर असुल गर्दै आएको छ ।

बाटो निर्माणमा चासो नदेखाएको र दक्षजनशक्ति प्रयोग नगरेको भन्दै आरोहणदलले संघविरुद्ध असन्तुष्टी जनाएका छन् । संघले समयमै बाटो निर्माण नगरे पछि समय ढिलो भएको भन्दै गोरखा एभरेष्ट एक्सपिडीसनका शेर्पा गाइड र आरोहणदलका सदस्यहरु बाटो निर्माण गरी चुचुरो चुम्न सफल भएका हुन् ।

यो सिजनमा सगरमाथा आरोहणका लागि नेपाल मोहोडाबाट ३७ आरोहणदलका तीन सय ६३ जना आरोहीले अनुमति लिएका छन् । यो बाटो हुदै ल्होत्से हिमालका लागि नौ आरोहणदलका एक सय आठ जना आरोही आरोहणका क्रममा छन् । अन्नपुर्णमा समाचार छ ।