सम्पादकीय

मतगणनामा रोचक घटना



काठमाडौं, ३ जेठ । स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् । डोल्पाको मुड्केचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मत अन्तरले चुनाव जितेको छ भने सल्यानको ढोरचौर गाउँपालिका ४ को वडाध्यक्ष गोलाप्रथाबाट छानिएको छ । यी तीन वटै घटनामा एमाले उम्मेदवारहरुले हार ब्यहोर्नुपरेको छ ।

डोल्पाको मुड्केचुला गाउंपालिकामा माओवादी केन्द्रका दत्तबहादुर शाहीले निकटतम प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायभन्दा २ मत बढी ९ सय ३३ ल्याएर अध्यक्षमा विजयी भए । रोकायाले ९ सय ३१ मत प्राप्त गरेका थिए । झिनो मतले पछाडि परेपछि उनले आफूलाई आशंका लागेकोभन्दै पुनः मतगणनाका लागि निर्वाचन कार्यालयमा निवेदन दिएका छन् ।

त्यस्तै, जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रका रजबहादुर शाहीले एमालेका प्रत्यासी भैबहादुर रोकायाभन्दा तीन मतले धेरै ल्याएर अध्यक्ष जितेका छन् । उनले एक हजार ३ सय १७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका रोकायाले एक हजार ३ सय १४ मत मा चित्त बुझाउनुपरेको छ ।

उता सल्यानको ढोरचौर गाउँपालिका वडा नं। ४ का कांग्रेस र एमालेका वडाध्यक्ष उम्मेदवारहरुले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको छ । कांग्रेसका दिनेश विएम र एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेका थिए । वडाध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश विएमले बाजी मारेका छन् । गाउँपालिका नेतृत्वमा भने एमालेले जितेको छ । कान्तिपुरमा समाचार छ ।