Banner News

कांग्रेस एमाले वा माओवादी जसले जिते पनि देशले जितेको छ, ‘प्रधानमन्त्री’



बैशाख ५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कुनै दलले जिते पनि देशले जितेको बताउनु भएको छ ।

कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुरको नवनिर्मित केन्द्रीय कार्यालय भवनको समुद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन हुँदैन कि भन्ने आशङ्का थियो । निर्वाचन सम्पन्न गर्नु ठूलै चुनौति थियो । हामीले चुनौतिलाई पार लगाएर स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरेका छौं । आजभोलि म निकै खुसी छु, टिभी पनि हेर्न छोडेको छु । कसले जित्यो वा हार्यो रु यसमा मलाई कुनै चिन्ता छैन । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र वा अरु कसैले जिते पनि देशले जितेको छ, नेपालले जितेको छ, यो हामी सबै नेपालीको जीत हो, हामी सबैले खुलेर उत्सव मनाऔं ।’
दोस्रो चरणको निर्वाचन चुनौतिपूर्ण भए पनि सम्पन्न गरेरै छोड्ने प्रधानमन्त्रीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पहिलो चरणको चुनावभन्दा दोस्रो चरणको चुनाव झन् चुनौतिपूर्ण छ । हामीले दोस्रो चरणको चुनावलाई पनि उत्सवका रुपमा सम्पन्न गर्नुछ । आज नै मैले प्रमूख दलका नेताहरुको बैठक बोलाएको छु । हामी दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवका रुपमा मनाउन प्रतिवद्ध छौं ।’
कृषि तथा बन विज्ञान विश्वविद्यालयबारे चर्चा गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘आज मलाई खुसी लागेको छ । म यही क्याम्पसको विद्यार्थी, यसै जिल्लाको बासिन्दा अनि प्रधानमन्त्री पनि । पहिलोपटक प्रधानमन्त्री हुँदा कृषि तथा बन विज्ञान विश्वविद्यालय स्थापना गर्ने अवसर पाएँ, अहिले त्रिवि र कृषि तथा बन विश्वविद्यालयको विवाद समाधान गर्ने जिम्मेवारी पनि मेरै थाप्लोमा आयो । अहिले सरकारले विवाद समाधान गरेको छ । मेरो विश्वास छ, प्रशासकीय भवन जसरी अन्तर्राष्ट्रिय स्तरको बनेको छ, गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरकै हुनेछ ।’
प्रधानमन्त्रीले नेपालमा कृषि क्षेत्र नै जनताको समृद्धि र विकासको पूर्वाधार भएको बताउनु भयो । केन्द्रीय कार्यालयको समुद्घाटनपूर्व प्रधानमन्त्रीले नवलपरासीमा रहेको शास्वतधामको अवलोकन भ्रमण गर्नुभएको थियो ।