काठमाडौं, ६ जेठ । नेकपा एमालेले टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले उक्त घटनामा मारिएका सुरक्षाकर्मी र बालकका परिवारलाई नुक चुक दल्ने काम गरेको बताएको छ । सरकारले राजनीतिक आवरण दिई टिकापुर घटनाका दोषीलाई उन्मुक्ति दिने निर्णय गरेको भन्दै एमालेले आक्रोश पोखेको हो ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी एक जना शिशुको विभत्स हत्या एवं त्यसपछिका विभिन्न आपराधिक घटनाहरूलाई राजनीतिक आवरण दिई तिनमा सङ्लग्नहरूलाई उन्मुक्ति दिन सरकारले हिजो गरेको निर्णयप्रति एमाले गम्भीर आपत्ति प्रकट गर्दछ,’ पार्टी सचिव प्रदीप ज्ञवालीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।
विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक-पटकका फैसला तथा निर्देशनहरू एवं मानव अधिकारका विश्वव्यापी मूल्य मान्यता विपरित सरकारको उन्मुक्ति दिने निर्णय गरेको एमालेको ठहर छ।
‘सरकारको निर्णयबाट दण्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने कुरा स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ,‘यस निर्णयले इमान्दारीपूर्वक आफ्नो कत्र्तव्य निर्वाह गर्ने सुरक्षाकर्मीहरूको मनोबल गिर्ने तथा हिंसाका पक्षधरहरू उत्साहित हुने गम्भीर स्थिति सिर्जना भएको छ।
सरकारले निर्णयले न्यायको पर्खाइमा बसेका पीडितहरूको घाउमा नुनचुक दल्ने काम गरेको छ।’ सरकारको निर्णय तत्काल फिर्ता लिन र घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबीन गरी दोषीलाई कानूनी दायरामा ल्याउन, दण्डहीनता अन्त्य गर्न तथा मानव अधिकार र विधिको शासनको पालना गर्न एमालेले सरकारको ध्यानाकर्षण गरेको छ । अन्नपूर्णमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्