Banner News

मधेशका मुद्दा ब्यालेटबाट संस्थागत गरौं, ‘प्रधानमन्त्री’



जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गर्न मधेश केन्द्रित दल र मधेशी जनतालाई आग्रह गर्नुभएको छ ।

जनकपुरबाट प्रकाशित जनकपुर टुडेको १८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘मधेश केन्द्रित दल र मधेशी जनताको भावनाको मलाई गहिरो हेक्का छ, म आफै १० प्रदेशसहितको संघीयताको पक्षधर हुँ, मधेशमा २ प्रदेश बनाउने मेरो पार्टीको पनि आधिकारिक निर्णय हो । अहिलेको संविधानमा मेरो पार्टीको पनि नोट अफ डिसेन्ट छ । तर, देशलाई निकास दिने र मधेश र मधेशी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प छैन । त्यसका लागि मधेश केन्द्रित दलहरु पनि निर्वाचनमा आउनुपर्छ । आन्दोलन र संघर्षको रुप सधैं एउटै हुँदैन, तपाईहरु पनि ब्यालेटको मोर्चामा आउनुस्, मधेशका मुद्दा ब्यालेटबाटै संस्थागत गरौं ।’
मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा ल्याउन सरकारले अथक प्रयास गरेको प्रधानमन्त्रीले बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘यो सरकार मधेशका मुद्दाप्रति धेरै संवेदनशील छ, म आफै तीस दलीय गठबन्धनको नेतृत्व गरेको नेता हुँ, मधेशबाटै निर्वाचित जनप्रतिनिधि हुँ, मधेशमा माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिनेछ, झुट्टा मुद्दा खारेजीका लागि प्रक्रिया सुरु गरिएको छ, घाइते र शहिदहरुको उपचार र राहतको निर्णय गरिएको छ, यो सरकार जत्तिकै नजिकको सरकार मधेशी दल र मधेशी जनताले पाउन केही वर्ष मुस्किल नै पर्छ ।’
सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन फिर्ता नहुने स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन् । तर, मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन । अनि, हत्याका घटनामा प्रत्यक्ष संलग्नको हकमा मुद्दा फिर्ता गर्न पनि सकिँदैन । तर, हत्यामा संलग्न नभएकाहरुको झुट्टा मुद्दा भने सरकारले फिर्ता गर्छ ।’