काठमाडौं, ८ जेठ । बाराको खजानी नाकामा सुरक्षामा खटेका सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको छ । शनिबार राति भएको झडपमा परी तीन जना म्यादी प्रहरी घाइते भएका छन्, जसमा एक जनाको खुट्टा भाँचिएको र अन्य दुई जना घाइते भएका छन् ।
प्रहरी हवल्दार भरदुल राय यादवको नेतृत्वमा नाकामा सुरक्षामा खटिएका नेपाल प्रहरी र म्यादी प्रहरीलाई तस्कर समूहले लखेट्न खोजेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ । विवाद बढेपछि तस्करहरुले चलाएको ढुंगा मुढाबाट सुरक्षामा खटिएका म्यादी प्रहरी जयराम साह रौनियारको खुट्टा भाँचिएको छ । राजकिशोर साह कानु र अनिल कुमार रौनियार समान्य घाइते भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक लालसर्व श्रीबहादुर सिंहले जानकारी दिए ।
स्थानीय तह निर्वाचनको लागि भर्ना भएका म्यादी प्रहरीले नेपाल प्रहरीको समन्वयमा जिल्लाका नाकाहरुमा २४औं घण्टा सुरक्षामा खट्दै आएका छन् । सुरक्षाकर्मीहरुमाथि गरिएको आक्रमणमा संलग्न रहेको आरोपमा बृजेश मुखिया, मुखलाल मुखिया र हितेश मुखियालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्