काठमाडौं, ८ जेठ । बलात्कार गरेर फरार रहेको ३० वर्षपछि प्रहरीले एकजनालाई आइतबार पक्राउ गरेको छ । ०४४ सालमा धरान–१६ बस्ने एक महिलालाई जबर्जस्ती बलात्कार गरेर फरार रहेका धरान–१० बस्ने लालु भनिने ५० वर्षीय ललित राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । बलात्कारपछि अदालतले मुद्दा फैसला गरे पनि लामो समय फरार रहेको अवस्थामा पक्राउ परेको सम्भवत यो पहिलो घटना हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रनाउ खतिवडाका अनुसार २०४४ सालमा राईविरुद्ध बलात्कार अभियोगमा इलाका प्रहरी कार्यालयमा नै जबर्जस्ती करणी मुद्दा दर्ता भए पनि फरार रहेको अवस्थामा अनुसन्धान पूरा गरी सुनसरी जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । बलात्कार गरेको समयमा राईका उमेर करिब २० वर्षको रहेको थियो ।
सुनसरी जिल्ला अदालतबाट २०४७ असोज ५ गते राईलाई दण्ड जरिवाना स्वरुप ३ वर्ष कैद फैसला भएको थियो । तर, बलात्कारी राई फरार रहेका थिए । राईले बलात्कार गरेका महिलाको मृत्यु भइसकेको बुझिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयले अदालतबाट फैसला भएर जेल सजाय, दण्ड जरिवाना तोकिएका तर फरार रहेका अपराधीक व्यक्तिहरुको लिस्ट प्राप्त गरेपछि खोजतलास गर्दा राई पक्राउ परेका हुन् । पक्राउ परेपछि राईले आफ्नो गल्ती स्वीकारेका छन् । राईलाई आइतबार नै सुनसरी जिल्ला अदालतमा पेस गरिएको प्रनाउ खतिवडाले बताए । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्