काठमाडौं, ९ जेठ । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितहरुको मुद्दा फिर्ता लिने सरकारी निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ । सरकारी निर्णयविरुद्ध परेको रिटमाथि पहिलो सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सरकारको निर्णयविरुद्ध कारण देखाउ आदेश दिएको हो ।
आदेशमा रिटमा माग गरिए जस्तो अन्तरिम आदेश भने दिन नपर्ने उल्लेख छ । साथै, सर्वोच्चले विगतमा यस प्रकृतिका रिटलाई संवैधानिक इजलासले निरुपण गरेको भन्दै सोही इजलासमा पेश गर्न प्रधानन्यायधीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
पुर्वसचिव द्धारिकानाथ ढुंगेल, अधिवक्ता कपिलदेव ढकाल र जगदिश चन्द्र बरालले टीकापुर घटनाका दोषीमाथि उन्मुक्ति दिने गरी सरकारले निर्णय गरेको भन्दै उत्प्रेषणको आदेशले बदर गर्न माग सहित हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
रिटमा सो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेशको समेत माग गरिएको थियो । रिटमा प्रधानमन्त्री, मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयलाई विपक्षी बनाइएको छ ।
गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले थारुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्नहरुविरुद्ध लागेका मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका बहालवाला एसएसपी, दुई बर्षीय नाबालक सहित ८ जनाको हत्या भएको थियो । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्