Banner News

सरकारले आज नीति तथा कार्यक्रम ल्याउने



काठमाडौं ,११ जेठ । सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । मन्त्रीपरिषदबाट पारित भएको नीति तथा कार्यक्रम व्यवस्थापिका संसदबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गर्नुहुने छ । आज अपरान्ह ४ बजे बस्ने संसद बैठकमा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।

सरकार परिवर्तनको बेला र चुनावका बेला भएकाले सरकारले मोटा, मोटी योजना तथा आयोजनालाई मात्रै समेटेर नीति तथा कार्यक्रम तयार पारेको छ । स्थानीय तहको सङ्ख्या थपको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनको कारवाही चल्न नदिने अडान लिएपछि पूर्वबजेट छलफलबिना नै यो पटक सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको हो ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्नुहुनेछ । निर्वाचन आचारसंहिताका कारण यो पटक अघिल्लो आर्थिक वर्षका कार्यक्रमलाई नै मुख्य रूपमा निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रम पहिलो पटक सङ्घीय संरचनामा तयार भएको छ । आज नीति तथा कार्यक्रम ल्याउने क्रममा प्रतिपक्ष एमालेले संसदको अवरोध नगर्ने बताएको छ ।