काठमाडौं, १३ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) द्वारा घोषणा गरिएको आन्दोलन र सर्वोच्च अदालतले स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयलाई कार्यान्वयन नगर्न दिएको आदेशलगत्तै शुक्रबार कांग्रेसले राजपालाई संवादबाटै समाधान खोज्न आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा नेताहरूबीच भएको छलफलमा परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै सहमतिका लागि सबै दलसँग संवाद थाल्ने निर्णय लिएको छ ।
दोस्रो चरणको स्थानीय तहको चुनावका लागि उम्मेदवार छनोट गर्न पार्टी केन्द्रीय कार्यालयमा दुई दिनदेखि बसिरहेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूको बैठक राजापाको निर्णय र सर्वोच्चको आदेशपछि प्रभावित भएको थियो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले अदालतको निर्णयप्रति नकारात्मक टिप्पणी नगरीकन राजपाको निर्णयले आसन्न चुनावलाई पार्न सक्ने असरबारे छलफल भएको जानकारी दिए । उनले राजापलाई चुनावमा सहभागी गराउन अन्य उपाय र विकल्पबारे तत्काल संवाद थाल्नुपर्ने भन्दै बैठक टुंग्याइएको थियो ।
सभापति शेरबहादुर देउवाले आफू र प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार साँझबाटै राजपाका नेताहरूसँग सहमतिका लागि संवाद थाल्ने बताएका थिए ।
‘तोकिएकै मितिमा चुनाव गराउने गरी राजपाका नेताहरूलाई कसरी सहमतिमा ल्याउन सकिन्छ भन्नेबारे पार्टी नेताहरूबीच गम्भीर छलफल भएको छ,’ केसीले भने, ‘चुनाव सुनिश्चित हुने गरी सहमति खोज्न तत्काल संवाद गर्न सभापति देउवालाई जिम्मा दिइएको छ ।’
उम्मेदवार छनोट
कांग्रेसले दोस्रो चरणको स्थानीय तहको चुनावका लागि प्रदेश नम्बर १ र ७ का पहाडी जिल्लामा शुक्रबार उम्मेदवार छनोट गरेको छ । बैठकले प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरीबाहेक ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, उदयपुरमा उम्मेदवार टुंग्याइएको हो । प्रदेश नम्बर ७ को बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुराको उम्मेदवार टुंग्याइएको छ ।
कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश १ र ७ को पहाडी क्षेत्रमा करिब टुंगो लागे पनि मधेसमा बाँकी रहेको बताए । ‘धेरै ठाउँमा सहमति नै भयो, सहमति नभएको ठाउँमा सम्बन्धित संयन्त्रका सदस्यहरूसँग परामर्श गरेर उम्मेदवार छनोट गरिएको छ,’ उनले भने । प्रदेश २ र ५ का उम्मेदवार टुंगो शनिबार लगाइने उनले बताए । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्