काठमाडौं, १३ जेठ । सरकारले थप गरेको स्थानीय तहको संख्या र सीमा हेरफेरमा सर्वोच्च अदालतले लगाएको रोकको प्रमुख प्रतिपक्षी एमालेले स्वागत गरेको छ । पार्टीको संसदीय दलको कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले ‘निर्वाचनको मिति तय भइसकेको अवस्थामा कुनै औचित्य र आधारबिना सरकारले गरेको स्वेच्छाचारी कदमलाई सर्वोच्चले लगाएको रोकले पूर्वनिर्धारित तह र मितिमा निर्वाचन गर्न सहज भएको’ बताएको छ ।
बैठकले जेठ ३१ का लागि तोकिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ । बैठकले दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ५ का चार उपमहानगरपालिकामा पार्टीका प्रमुख र उपप्रमुख उम्मेदवार पनि तय गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्दिन सिद्दकी र उपप्रमुखमा शान्ति ढकाल, घोराहीको प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा सीता न्यौपाने, तुलसीपुरको प्रमुखमा घनश्याम पाण्डे र उपप्रमुखमा माया आचार्य तथा बुटवलको प्रमुखमा शिवराज सुवेदी र उपप्रमुखमा गोमा आचार्यलाई उम्मेदवार बनाइएको पार्टी सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्