Banner News

म तपाईंहरुको विश्वास र भरोसालाई मर्न दिने छैनःशाक्य



काठमाडौँ, १४ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा नवनिर्वाचित विद्यासुन्दर शाक्यले आफूले मतदाताको आशा, विश्वास र भरोसालाई मर्न नदिने बताउनुभएको छ ।

कामपा प्रमुखमा निर्वाचित भएपछि आज विज्ञप्ति जारी गरी उहाँले आफूप्रति आशा, विश्वास र भरोसाका साथ दिइएको गहन जिम्मेवारी पूरा गर्न दिनरात नभनी खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले आफूलाई मतदान गर्ने मतदाता र समर्थन गर्नेहरुलाई धन्यवाद व्यक्त गर्दै सो पदमा योग्य ठान्ने आफ्नो पार्टी नेकपा ९एमाले०, पार्टी कार्यकर्ता, शुभचिन्तक एवम् सबै नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा पनि कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
विज्ञप्तिमा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्ष रुपमा अहोरात्र खट्ने पार्टी नेतृत्व, विभिन्न जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता, महानगरवासी, उद्योगी–व्यवसायी, सञ्चारकर्मीलगायतलाई स्मरण गरिएको छ ।

उहाँले निर्वाचनका क्रममा मात्र होइन मतगणनास्थलमा समेत अहोरात्र खटेर सुरक्षा प्रदान गर्ने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारी सबैले आआफ्नो ठाउँबाट गर्नुभएको योगदानप्रति सम्मान व्यक्त गर्नुभएको छ ।