काठमाडौं, १६ जेठ । भरतपुर महानगरपालिकाको जारी मतगणना स्थगितपछि तीन ठूला दलले आपूmअनुकुल व्याख्या, आरोप र बचाउ गर्न थालेका छन् । एमालेले भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्न माग गरेको छ भने अन्य दलहरूले पुनः मतदान गर्न जोड दिएका छन् ।
एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी तत्काल मतगणना सुरु गर्न माग गरेको छ । एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले छापामार शैलीमा भएको घटनाको विरोध गर्दै जनताको मताधिकारको दुरुपयोग भएको आरोप लगाए ।
उनले जनमतको मताधिकार कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने माग गरेका छन् । पोखरेलले भने, ‘मतगणनास्थलमा माओवादीले गडबडी गर्दै छन् भन्ने सूचना थियो तर गम्भीरताका साथ नलिँदा घटना भयो ।’ अध्यक्ष पोखरेलले माओवादी केन्द्रले सत्ताको आडमा आपराधिक कर्म गरेको बताए ।
च्यातिएको मतपत्र अलग राखी बाँकी मतपत्रहरू तत्काल गणना हुनुपर्ने माग एमालेले निर्वाचन आयोगसमक्ष राखेको छ । पार्टीको मागलाई निर्वाचन आयोगले कुनै सुनुवाइ नगरेकोप्रति पनि एमालेले आपत्ति जनाएको छ ।
एमालेद्वारा विरोध सभा
एमालेले मतपत्र च्यातेको विरोधमा सोमबार दिउँसो भरतपुरमा विरोध सभा आयोजना गरेको थियो । सभालाई सम्बोधन गर्दै एमाले सल्लाहकार परिषद्का सदस्य केशवलाल श्रेष्ठले गठबन्धनको गढमा पनि माओवादीले मत नपाएपछि सुनियोजित तरिकाले मतपत्र च्यातेको बताए ।
पुनः मतदान गरौँ स् कांग्रेस
गठबन्धनमा आबद्ध कांग्रेस चितवनले भने मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः मतदान गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै भरतपुर–१९ को मतपरिणामलाई असर पर्ने गरि मतपत्र च्यातिएको भन्दै पुनः मतदान अघि बढाउन माग गरेको छ ।
कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मतपत्र च्यातिँदा १९ नम्बर वडाको नतिजामा असर परेको छ, स्थानीय निर्वाचन ऐन २०७३ का दफा ४९ र ५० बमोजिम पुनः मतदान प्रक्रिया सुचारु गर्न जोडदार माग गर्दछौँ ।’
गठबन्धनमा आबद्ध अर्को पार्टी माओवादी केन्द्र चितवनले पनि सोमबार विज्ञप्ति जारी गर्दै एमाले कार्यकर्ताले भरतपुर महानगरपालिकाको मतगणना प्राभावित गर्ने गरी मतपत्र च्यातेको आरोप लगाएको छ ।
माओवादीका चितवन इन्चार्ज ईश्वरी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा एमाले कार्यकर्ताले मतपरिणाम प्रभावित पार्ने उद्देश्यले मतपत्र च्यातेको उल्लेख छ । उम्मेदवार रेणु दाहाल जिततर्फ उन्मुख भइरहेका वेला एमालेका प्रतिनिधिले मतगणनास्थलमा मतपत्र च्यात्न खोजेपछि आफ्ना प्रतिनिधिले त्यसको रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको माओवादीले दाबी गरेको छ ।
माओवादी केन्द्र चितवनले पक्राउ परेका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेको तत्काल रिहाइको माग पनि गरेको छ । साथै मतपत्र च्यातिएका केन्द्रमा पुनः मतदान गर्न पनि माग गरेको छ ।
माओवादी केन्द्रका दुई प्रतिनिधि पक्राउ
मतपत्र च्यातेको आरोपमा भरतपुरको कभर्ड हलबाट माओवादी केन्द्रका प्रतिनिधिहरू मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई मतपत्र च्यातिरहेको अवस्थामा तत्कालै पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । एसपी थापाका अनुसार चार–पाँचवटा मतपत्रहरू च्यातिएका छन् ।
उक्त मतपत्रलाई सिल गरेको उनको भनाइ छ । उनले मतगणनास्थलमा सुरक्षा बढाइएको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना नहुँदासम्म मतगणना नहुने सूचना सोमबार बिहान १ बजे निकालेको थियो ।
मतगणना अवस्था
आइतबार दिउँसोबाट भरतपुर वडा नम्बर १९ को मतगणना हुँदै थियो । उक्त वडाको १ हजार ८ सय मतगणना हुँदासम्म एमालेका उम्मेदवार देवी ज्ञवाली गठबन्धन उम्मेदवार रेणु दाहालभन्दा ७ सय ३३ मतले अगाडि थिए । कुल २ हजार ८ सय मत यस वडामा रहेको छ । अझै पनि वडा नम्बर २० को मतगणना बाँकी नै छ । यहाँ ३ हजार ३ सय मत रहेको छ ।
नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्