सोलुखुम्बु, १७ जेठ । गत शनिबार लुक्ला विमानस्थलमा भएको गोमा एअरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ ।
विमान दुर्घटनापछि नागरिक उड्ययन प्राधिकरणका पूर्व निर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा बनेको छानविन समितिले सोधपुछका क्रममा कुँवरलाई केन्द्रीय कार्यालयमा झिकाएको जनाइएको छ ।
मौसम निकै खराब हुँदाहुँदै पनि सो जहाजलाई अवतरणका लागि अनुमति दिएर लापरवाही गरेको आशङ्कामा कुँवरलाई केन्द्रमा झिकाइएको हो । गोमा एअरको जहाज दुर्घटनाका क्रममा कुँवर विदेश भ्रमणमा रहेको र सो भ्रमणका सम्बन्धमा केन्द्रीय कार्यालयमा जानकारी नभएको बताइएको छ । बच्चुनारायण श्रेष्ठलाई नागरिक उडड्यन प्राधिकरण लुक्लाको प्रमुख तोकिएको छ ।
पछिल्लो समयमा लुक्ला विमानस्थलमा उड्ययन प्राधिकरणको लापरवाही बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् । विमानस्थलभित्रै बल खेल्नेदेखि, सामान जथाभावी राख्ने तथा मौसमप्रति सजग नहुनेलगायतका क्रियाकलाप पछिल्ला दिनमा बढ्दै गएको स्थानीयको गुनासो छ । पर्यटकीय सिजनमा लुक्ला विमानस्थल अत्यन्तै व्यस्त रहने गरेको छ ।
शनिबार गोमा एअरको जहाज दुर्घटना हुँदा चालक पारस राई र सह चालक सृजन मानन्धरको ज्यान गएको थियो भने परिचारिका प्रज्ञा महर्जनको राजधानीमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्