काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अधिकारका लागि एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको गौरवपूर्ण दिनका रुपमा मनाइने विश्व मजदुर दिवसको अवसरमा शुभकामना दिए ।
प्रधानमन्त्री दाहालले मजदुर दिवसको अवसरमा शुभकामना दिँदै मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घन्टा काम, आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रूपमा मनाइने उल्लेख गरे ।
हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइने गरेको विश्व मजदुर÷श्रमिक दिवसको शुभकामना व्यक्त गर्न पाउँदा आफूलाई खुसी लागेको स्पष्ट पार्दै प्रधानमन्त्रीले १२८ औँ मई दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवी तथा कामदार वर्गलाई बधाई दिए ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको शुभकामना सन्देशमा स्पष्ट पारे ।
प्रधानमन्त्रीले सन्देशमा भने ‘नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । संवैधानिक व्यवस्थापनलाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको महत्वपूर्ण पक्ष हो ।’
श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्ठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिप्रति सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
मुलुकमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेशिने क्रम बढिरहेको, स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार क्रियाशील रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरे ।
प्रधानमन्त्रीले सन्देशमा भने ‘स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमका रुपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार निरन्तर लागि परेको म यस अवसरमा स्मरण गराउन चाहन्छु ।’ रासस
प्रतिक्रिया दिनुहोस्