काठमाडौं, १९ बैशाख । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तह निर्वाचनका लागि नारैनारासहितका योजना र कार्यक्रम समेटिएको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत अध्यक्ष केपी ओलीले ५३ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।
‘समृद्धि, समानता र सबल राष्ट्रको आधार : गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार’ भन्ने मूल नारा रहेको घोषणापत्रमा १५ हजार मेगावाट विद्युत् उत्पादन, पानीजहाज सञ्चालनदेखि सिंगै देशलाई रेलमय बनाउनेसम्मका दर्जनौँ महत्वाकांक्षी कार्यक्रम समेटिएका छन् ।
त्यस्तै, सबै विद्यार्थीलाई ल्यापटप उपलब्ध गराउने, आधुनिक बृहत्तर राजधानी निर्माण गर्ने तथा १० वर्षभित्रै मुलुकलाई विकासशील राष्ट्रको दर्जामा पुर्याएर प्रतिव्यक्ति आम्दानी पाँच हजार डलर पुर्याउनेसम्मका संकल्प गरिएका छन् ।
संघीयता, समृद्धि र समाजवादको आधारशिला निर्माणमा योगदान गर्ने गरी घोषणापत्र ल्याइएको सचिव प्रदीप ज्ञवालीले बताए । संविधान निर्माणमा नेतृत्वदायी भूमिकादेखि मुलुकलाई समृद्धिको सपना र योजना देखाउने दल एमाले नै भएको दाबी गर्दै घोषणापत्रमा अरू दलसमेत पार्टीको नीति र कार्यक्रम पछ्याउँदै गएको दाबी गरिएको छ ।
संविधानको पक्षपोषण : कार्यान्वयनमा जोड
घोषणापत्रको सुरुवातमै संविधान जारी गर्न खेलेको भूमिकामाथि प्रकाश पार्दै कार्यान्वयनप्रति पूर्ण प्रतिबद्धता जनाइएको छ । ‘कतिपय तत्वहरू नेपालको राष्ट्रिय एकता र सामाजिक सद्भावमा दीर्घकालीन रूपमा आघात पुर्याउने गरी जातीय राज्य खडा गर्न र पहाड तथा तराई–मधेसका बीचमा स्थायी विभाजन रेखा कोरेर कथित बहुराष्ट्रिय राज्य स्थापित गराउन चाहन्थे,’ एमालेको घोषणापत्रमा उल्लेख छ, ‘नवउदारवादी विचारलाई पराजित गर्दै सामाजिक–आर्थिक रूपान्तरण र समाजवादउन्मुख स्पष्ट दिशासहित जारी नेपालको संविधान श्रमजीवी जनताको सफल दस्ताबेज हो । एमाले संविधानको रक्षा र कार्यान्वयनका निम्ति प्रतिबद्ध छ ।’
हाम्रा कार्यक्रम सम्भव छन् : ओली
घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केपी ओलीले एमालेले सबै घोषित प्रतिबद्धता पूरा गर्नेगरी कार्यक्रमका रूपमा अघि सारेको बताए । ‘हामीले घोषणाका लागि होइन, काम गर्नकै लागि कार्यक्रम ल्याएका हौँ, यी सबै घोषणा सम्भव छन्, अरूले के गर्छन्, थाहा छैन,’ ओलीले भने, ‘एमालेले यसरी सम्भव छ भन्ने योजनासमेत अघि सार्ने गर्छ, हामीले त्यसै गरेका छौँ ।’
नारैनाराका कार्यक्रम
शान्ति र समृद्धि : घर–घरमा अधिकार, गाउँ–सहरको विकासमा एमाले सरकार,
नेपाली जनताको सपना : समृद्धि र समाजवादको स्थापना,
अर्थतन्त्रमा तीव्र वृद्धि : विद्युत् ऊर्जाबाट आर्थिक समृद्धि,
घर–घरमा बिजुली : जन–जनमा सेयर,
सामाजिक–आर्थिक रूपान्तरणको आधार : राष्ट्रव्यापी यातायात र पूर्वाधार,
नेपाली अर्थतन्त्रको सबलीकरण : कृषिको आधुनिकीकरण,
कृषि भूमिमा पानी : िसचाइमा लगानी,
नेपालको पर्यटन : राष्ट्रको समृद्धि र साधन,
समृद्धिको नयाँ चरण : व्यापक औद्योगीकरण,
इतिहासको धनी संस्कृतिको खानी : स्वच्छ, सुन्दर र आधुनिक राजधानी,
गाउँ–गाउँमा सहकारी : घर–घरमा रोजगारीजस्ता चार दर्जनभन्दा बढी नारासहितका कार्यक्रम घोषणापत्रमा छ ।
१० वर्षमा पाँच हजार डलर आम्दानी
घोषणापत्रमा १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलर पुर्याएर अल्पविकसित राष्ट्रको स्तरबाट विकासशील राष्ट्रमा पुर्याउने तथा २५ वर्षभित्र न्यूनतम १५ हजार डलर आम्दानी पुर्याएर विकसित राष्ट्रको दर्जामा पर्याउने संकल्प गरिएको छ ।
भू–उपयोग नीतिको आधारमा भूमि सम्बन्धको पुनर्संरचना गरी कृषिको आधुनिकीकरण, व्यावसायीकरण र औद्योगीकरण गर्ने, जलस्रोतको बहुआयामिक उपयोगद्वारा ऊर्जा, सिँचाइ, पर्यावरण र बाढी नियन्त्रणमा फड्को मार्ने कार्यक्रम कार्यान्वयन गर्ने घोषणापत्रमा उल्लेख छ ।
चीनसँगको समझदारी कार्यान्वयनमा संकल्प
घोषणापत्रमा चीनसँग गरिएको पारवहन र यातायात सम्झौता तथा रेलवे, सडक यातायात, पेट्रोलियम, ऊर्जा तथा सञ्चारसम्बन्धी समझदारीको कार्यान्वयन गर्ने, भारत र चीनसँग आर्थिक सम्बन्धलाई नयाँ उचाइमा विकसित गर्ने, दक्षिण एसियाली राष्ट्रहरूसँग समेत नयाँ साझेदारी विकास गर्दै परनिर्भरताको अन्त्य र अन्तरनिर्भरताको वृद्धि गर्ने उल्लेख छ ।
१० वर्षमा १५ हजार मेगावाट बिजुली
एमालेले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका सम्भव स्रोत र साधन परिचालित गरी आगामी १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भू–तापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना अघि बढाउने, कोसी बहुउद्देश्यीय परियोजना, तमोर जलाशय परियोजना, पश्चिम सेती, नलसिंगाढ, नौमुर बुढीगण्डकी परियोजना यथाशीघ्र सम्पन्न गर्ने उल्लेख छ ।
देशभर रेल्वे यातायात सेवा विस्तारको प्रतिबद्धता
पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी राजमार्गको समानान्तर रेल सञ्चालन गर्ने, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी, काठमाडौं–वीरगन्ज, राजधानी काठमाडौंको भित्री चक्रपथमा समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गर्ने उल्लेख छ ।
तीन वर्षभित्र पोखरा, दुई वर्षभित्र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, अन्य विमानस्थलको स्तरोन्नति, निजगढमा १० वर्षभित्र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रतिबद्धता व्यक्त गरिएको छ । नयाँ पत्रिकामा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्