काठमाडौं, १९ वैशाख । लामो रस्साकस्सीपछि नेपाली काँग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि मुलुकका चारवटै महानगरपालिकामा पार्टीका आधिकारिक उम्मेदवार चयन गरेको छ ।
दुई दिनदेखि जारी काँग्रेस पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले आज सबै महानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा उम्मेदवार चयन गरेको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।
पार्टीले काठमाडौँ महानगरपालिकाको प्रमुखमा राजुराज जोशी र उपप्रमुखमा हरिप्रभा खड्की, पोखरा महानगरपालिकाको प्रमुखमा रामजी कुँवर र उपप्रमुखमा सरस्वती गुरुङ, भरतपुर महानगरपालिकाको प्रमुखमा दिनेश कोइराला र उपप्रमुखमा पार्वती शाह तथा ललितपुर महानगरपालिकाको प्रमुखमा चिरिबाबु महर्जन र गीता सत्यालको टुङ्गो लगाएको उनले बताए ।
यही वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं– ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लाका २८३ स्थानीय तहमा हुदैंछ । त्यसका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको थियो ।
पहिलो चरणको निर्वाचन हुने तीनवटै प्रदेशमा चार महानगरपालिका, एक उपमहानगर, ९२ वटा नगरपालिका तथा १८६ वटा गाउँपालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्