राजनीति

ललितपुरमा माओवादी केन्द्रसहित साना दलको उम्मेदवारी



काठमाडौँ, १९ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ ।

बिहान १० बजेदेखि सुरु भएको दर्ता प्रक्रियाअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म पाँच जनाले प्रमुख र चार जनाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन ।

ललितपुरका मुख्य निर्वाचित अधिकृत बालमुकुन्द दवाडीले महानगरमा उम्मेदवारी दर्ता भइरहेको जानकारी गराए । उनका अनुसार नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा दिनेश महर्जन र उपप्रमुखमा हसिना शाक्यले उम्मेदवारी दर्ता गरेका छन् ।

यसैगरी नेकपा (माले)बाट प्रमुखमा मोहनराज शाक्य र उपप्रमुखमा लक्ष्मी श्रेष्ठ, नेकपा (क्रान्तिकारी माओवादी)बाट प्रमुखमा विजय खड्गी र उपप्रमुखमा इन्द्रिरा अधिकारी तथा राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रमुखमा रोशन महर्जन र स्वतन्त्रबाट रमेश महर्जनले प्रमुखमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दवाडीले जानकारी गराए ।

यसैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाबुकाजी महर्जन र स्वतन्त्रबाट शोभा शाक्यले उम्मेदवारी दर्ता गराए । साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराइने भने तापनि ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) अहिलेसम्म उम्मेदवारी दर्ता गराउन आएका छैनन् ।

विसं २०५४ पछि पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले उत्साही भएर उम्मेदवार दर्ता गराइरहेका छन् ।

ललितपुर महानगरमा एक लाख १२ हजार नौ सय २५ जना जनसङ्ख्या छ ।