राजनीति

काममा फर्कन प्रधानन्यायाधीश कार्कीलाई बाटो खुला



काठमाडौँ, २२ वैशाख । व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि आफ्नो काम सम्पादन गर्नबाट वञ्चित प्रधानन्यायाधीश सुशीला कार्कीलाई काममा फर्कन बाटो खुला भएको छ ।

न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजालाले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैदेखि काम गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेको छ । आदेशमा भनिएको छ, “व्यवस्थापिका–संसद्मा आइतबार दर्ता भएको महाअभियोगको प्रस्ताव र व्यवस्थापिका–संसदले जारी गरेको पत्रलाई यथास्थितिमा राख्नू, साथै प्रधानन्यायाधीश कार्कीलाई यथावत् रुपमा आजै आफ्नो पदमा काम गर्न दिनू ।”

सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षकको बढुवा तथा अन्य विषयसम्बन्धी मुद्दामा भएको फैसलालाई आधार मानी अभियोग लगाइएको देखिएको जनाउँदै आदेशमा भनिएको छ, “नेपालको संविधानको मर्म र भावना अनुकूल उक्त महाअभियोग प्रस्ताव छैन भन्ने कुरा सुरु नजरमै देखिन आयो, सुविधा सन्तुलनको आधारमा यो निवेदनको टुङगो नलागेसम्म महाअभियोगको प्रस्ताव यथास्थितिमा राख्नू ।”

महाभियोगका विषयमा नागरिक समाजमा बौद्धिक छलफल, निस्कने वस्तुगत परिणाम तथा प्रमाणयोग्य आधार रहन्छ भने प्रधानन्यायाधीश र न्यायाधीशका विरुद्धमा महाभियोगको प्रस्ताव संवैधानिक, व्यावहारिक र जायज मान्न सकिने तर त्यस्तो अवस्था बाहेकमा प्रस्तुत हुने महाभियोगको प्रस्ताव संविधानको मर्म र भावना अनुकूल मान्न नसकिने कुरा आदेशमा भनिएको छ ।