काठमाडौँ, २२ वैशाख । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दल नेपाली काँग्रेससँग तालमेल भएका स्थानमा इमान्दारीका साथ समझदारी कार्यान्वयन गर्न पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई निर्देशन दिएको छ ।
सहमति तथा सहकार्यको संस्कारलाई अगाडि बढाउन पनि सहमति र सहकार्य अगाडि बढाउनु जरुरी छ भन्दै माओवादी केन्द्रले इमान्दारीताका साथ पार्टी केन्द्रको निर्देशन र स्थानीय आवश्यकतालाई विशेष ख्याल गर्नसमेत आग्रह गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले पार्टी केन्द्रीय कार्यालयले स्थानीय आवश्यकताका आधारमा जुनसुकै शक्तिसँग पनि तालमेल गर्ने अधिकार दिए पनि सरकारमा सँगै रहेका दलसँगको सहकार्य नै बढी जिम्मेवार हुने बताए ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा अगाडि बढेको तालमेलको प्रक्रिया दोस्रो चरणमा समेत निरन्तर रहने छ भन्दै प्रवक्ता भुसालले कुनै पनि कार्यकर्ता र समर्थकलाई सानो चित्त नगर्न आग्रह गरिन । उनले धादिङ, दोलखा, म्याग्दी, मकवानपुरलगायत एक दर्जन जिल्लामा काँग्रेससँग तालमेल भएको जानकारी दिइन ।
नेकपा (एमाले)सँग तनहुँमा तालमेल भई सहमतिका साथ अगाडि बढ्ने निर्णय सोही दलले नै भत्काएको आरोप उनले लगाइन ।
दाहालको उम्मेदवारी स्वाभाविक
प्रवक्ता भुसालले पार्टीका अन्य उम्मेदवार जस्तै अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)का महासचिव रेणु दाहालको उम्मेदवारी स्वाभाविक र नियमित तथा प्राकृतिक भएको बताइन ।
नेत्री भुसालले भनिन, “जनयुद्धको समयदेखि नै निरन्तर रुपमा पार्टी आन्दोलनमा लागेका अन्य कार्यकर्ता जस्तै देश र जनताको पक्षमा रेणुजी हुनुहुन्छ । उहाँलाई केवल पार्टी अध्यक्षको छोरीका रुपमा मात्रै चित्रित गर्नु गलत हुन जान्छ । उहाँ हाम्रो पार्टीको महिला सङ्गठनको महासचिव पनि हुनुहुन्छ ।”
काँग्रेससँग भएको तालमेल स्वाभाविक हो भन्दै उनले कास्कीमा माओवादीले काँग्रेसका उम्मेदवार र भरतपुरमा काँग्रेसले माओवादी उम्मेदवार दाहाललाई मतदान गर्ने विश्वास व्यक्त गरिन ।
स्थानीय तहलाई नै घोषणापत्र बनाउने अधिकार
नेत्री भुसालले स्थानीय तहमा नै पार्टीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्न अधिकार प्रदान गरिएका कारण औपचारिक रुपमा पार्टी केन्द्रले त्यस प्रकारको कार्यक्रम नराखेको बताइन। स्थानीय तहको निर्वाचन भएकाले स्थानीय सापेक्षतामा नै हाम्रो पार्टीका उम्मेदवारले प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको उल्लेख गर्दै प्रवक्ता भुसालले भनिन ।
“केन्द्रीय संसद्को चुनाव जसरी ठूल्ठूला हवाई सपना हामीलाई बाँड्नु छैन । स्थानीय तहको सापेक्षतामा हामीले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छौँ । केन्द्रका तर्फबाट ३० बुँदे निर्देशनपत्र दिइएको छ ।”
माओवादी केन्द्र नेतृत्वको सरकारले सिंहदरबारको अधिकारलाई गाउँ तहमा पु¥याएकाले स्थानीय तह निर्वाचनको प्रमुख नारा नै ‘माओवादी केन्द्रको उपहारः गाउँ गाउँमा सिंहदरबार’ तय गरिएको उनको भनाइ छ । ‘जसको नीति उसको नेतृत्व’ भन्ने नाराका साथ माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा होमिएको जानकारी दिँदै प्रवक्ता भुसालले आफूहरुको ध्यान स्थानीय तहलाई नै अधिकारसम्पन्न बनाउनेतर्फ केन्द्रित रहेको बताइन ।
प्रतिक्रिया दिनुहोस्