नयाँदिल्ली, २३ वैशाख । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार अस्पताल भर्ना भएका छन् ।
विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेर अफ्ट्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँदिल्लीमा रहेको एक विद्यालय नजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात चुहिएको प्रहरीको भनाइ छ ।
झन्डै २०० जना बालबालिका नजिकैका चार ओटा अस्पतालमा भर्ना भएका छन्, गम्भीत तथा सिकिस्त बिरामी त कोही पनि छैनन्, सबै सामान्य अवस्थामा छन्, एक जना प्रहरी उपप्रमुख रोमिल बानीयाले पत्रकारसँग भने ।
उहाँले ग्यास चुहावटका बारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइसकिएको पनि बताए ।
भारतमा ग्यास चुहावटका घटना असामान्य होइन । यसअघि सन् २०१४ मा छत्तिसगढमा रहेको एउटा स्टील कारखानामा ग्यास चुहावट हुदा छ जनाको मृत्यु भएको थियो । सिन्ह्वा एएफपी
प्रतिक्रिया दिनुहोस्