राजनीति

तीन सयभन्दा बढी निर्विरोध



काठमाडौँ, २५ वैशाख । स्थानीय तहको पहिलो चरणको यही वैशाख ३१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनेमध्ये तीन सय १६ जना विभिन्न पदमा निर्विरोध भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मनाङको नारफु गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका मिङमानर छिरिङ लामा र डोल्पाको शेफोक्सुण्डोमा नेकपा एमालेका टाँसी तुञ्दुप गुरुङ निर्विरोध हुनुभएको हो । त्यस्तै शे–फोक्सुण्डोमा धावा गुरुङ र डोल्पो बुद्ध गाउँपालिकामा मल्लटसी गुरुङ स्वतन्त्र उम्मेदवारका रुपमा उपाध्यक्षमा निर्विरोध हुनुभएको छ ।

प्रदेश नं ३, ४ र ६ अन्तर्गतका ३४ जिल्लामा १३ हजार पाँच सय ५६ पदका लागि पहिलो चरणको निर्वाचन यही वैशाख ३१ गते आइतबार हुँदैछ । आयोगका अनुसार उपप्रमुखमा दुई, वडाध्यक्षमा ५६, खुल्ला सदस्यमा एक सय १६, महिला सदस्यमा ६३ र दलित महिला सदस्यमा ७७ निर्विरोध भएका छन् । निर्विरोध हुने पुरुष एक सय ६९ र महिला एक सय ४७ छन् ।

दलगत रुपमा काँग्रेसका ९४, एमालेका एक सय ४२, नेकपा ९माओवादी केन्द्र०का ३६, नेपाल मजदुर किसान पार्टीका दुई, राप्रपाका पाँच तथा नयाँ शक्ति पार्टी र नेपाल परिवार दलका एक एक उम्मेदवार निर्विरोध भएका हुन् । त्यस्तै २१ पुरुष र ११ महिला स्वतन्त्र र स्पष्ट रुपमा पहिचान नखुलेका तीन जना पनि निर्विरोध भएको जनाइएको छ ।