सम्पादकीय

चुनावका लागि २८ हजार बाहिरिए, करिब १ लाखले काठमाडौं छाड्ने



काठमाडौं, २९ वैशाख । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै छ । २१ वैशाखदेखि नै उपत्यकाबाट बाहिरिनेको संख्या बढ्दै गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

आठ दिनमा उपत्यकाबाट करिब २८ हजार बाहिरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार अरू दिनमा उपत्यकामा बाहिरिने र भित्रिनेको संख्या ५० देखि सयजनाको मात्र फरक हुने गरेकोमा २१ वैशाखदेखि भने यसमा फरक आएको छ ।

ट्राफिक प्रहरी महाशाखाले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा करिब एक लाख मानिस बाहिरिने अनुमान गरेको छ । २१ वैशाखमा २२६२, २२ गते १९६४, २३ गते १२९७, २४ गते १३४०, २५ गते २४२५, २६ गते ३१९६, २७ गते ५२०० र २८ वैशाखमा पाँच हजारभन्दा बढीको हाराहारीमा उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी लामाले बताए ।

शुक्रबार र शनिबार राजधानीबाट बाहिरिनेको संख्या बढ्ने महाशाखाले जनाएको छ । दुई दिनमा ५० हजारभन्दा बढी मानिस उपत्यकाबाट बाहिरिने अनुमान रहेको लामाले बताए । नयाँ पत्रिकमा समाचार छ ।