Banner News

नेपालद्वारा चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर



काठमाडौँ, २९ वैशाख । नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा आज हस्ताक्षर गरेको छ ।

शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्पmबाट परराष्ट्र सचिव शङ्करदाश वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले सो अवधारणाको समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

उक्त समझदारीपत्रमा हस्ताक्षरपछि मन्त्री डा महतले यस नयाँ समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण पाइला भएको बताउनुभयो । उहाँले भन्नुभयो–यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको छु ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराको समेत उपस्थिति रहेको सो समारोहलाई सम्बोधन गर्दै मन्त्री डा महतले नेपालका लागि यो सम्झौता महत्वपूर्ण रहेको र यसपछि नेपालमा सडक सञ्जाल, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

। यो समझदारीपत्रमा हस्ताक्षरसँगै नेपालमा विदेशी लगानी र व्यापार प्रवद्र्धनका क्षेत्रमा नयाँ अध्यायको थालनी समेत भएको डा महतले बताउनुभयो ।
युरोप र अफ्रिकासमेतमा विस्तारित हुने यस चिनियाँ आयोजनाबाट नेपाल पनि लाभान्वित हुने हँुदा यस आयोजनाको समझदारीपत्रमा भएको हस्ताक्षरले नेपालको आर्थिक विकासमा पनि नयाँ आयाम थपिएको रुपमा आफूले लिएको पनि उहाँले बताउनुभयो ।

नेपाललाई बढीभन्दा बढी लगानीको खाँचो छ, यसै नयाँ आयोजनामार्फत नेपालमा चिनियाँ लगानी होस् भन्ने हामी चाहन्छौं– उहाँले भन्नुभयो । पछिल्लो समयमा नेपालमा हामीलाई धेरै ठूलो वैदेशिक लगानीको आवश्यकता रहेको भन्दै उहाँले दुई देशबीच भएको समझदारीबाट नेपालले लाभ उठाउने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा परराष्ट्र सचिव वैरागीले नेपालले पनि चीनको यो महत्वपूर्ण आयोजनाबाट लाभान्वित हुने भन्दै यसलाई नेपालको विकास प्रयासको एक महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूत यु होङले यस आयोजनाबाट चीन–नेपाल सहयोग र विशेषगरी दक्षिणी एसियाली क्षेत्रकै आर्थिक विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।