समाचार

मोदनाथ प्रश्रित पुरस्कृत



काठमाडौँ, २९ वैशाख । संस्कृतिविद् सत्यमोहन जोशीले हरेक क्षेत्रको भाषाको विकासबाट नेपालमा भाषिक एकता र सांस्कृतिक विविधताको विकास हुने बताए ।

नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा विभिन्न साहित्यकारलाई सम्मान गर्दै संस्कृतिविद् जोशीले मानिसको मृत्युपछि नभई जीवित अवस्थामा साहित्यकारको सम्मान गर्ने बानी बसाल्नु पर्नेमा जोड दिए।

भारतका सम्मानित व्यक्तित्व बिन्द्या सुब्बाले भारतीय साहित्यकारलाई नेपाली साहित्य संस्थाबाट सम्मानित गरेकामा सराहना गर्दै यसले दुई देशबीचको जनस्तरसम्म साहित्य सम्बन्ध अझ घनिष्ट हुने चर्चा गरे।

अर्का सम्मानित व्यक्तित्व साहित्यकार मोदनाथ प्रश्रितले साहित्य देशको सम्पत्ति भएकाले यसको विकासका लागि नवोदित साहित्यकारले अथक परिश्रम गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा संस्कृतिविद् जोशीले साहित्यकार मोदनाथ प्रश्रितको मेरो चित्रकारिता, नरेन्द्रराज प्रसाईद्वारा लिखित, अनुुकृतिकाद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित ‘दि ग्रेट पोइट अफ नेपाल’ तथा नरेन्द्रराज प्रसाईंद्वारा लिखित, नमिता सिंहद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित ‘स्केलिङ थेन्ज’ नामक पुस्तक विमोचन गरे।

सो अवसरमा संस्कृतिविद् जोशीले भारतका साहित्यकार बिन्द्या सुब्बालाई नइ देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार तथा डा मोदनाथ प्रश्रितलाई नइ खरा सुकिर्ती पुरस्कारबाट सम्मान गरे ।