विश्व

पाकिस्तान विस्फोटमा पच्चीसको मृत्यु, तीस घाइते



पाकिस्तान, ३० वैशाख । एक आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ ।

घटनामा २५ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताउनयो ।

यसैवीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार यहाँको बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस्फोटको निन्दा गर्नुभएको छ ।

घटनाको इस्लामिक स्टेट समूहले आफ्नो एक समाचार संस्थामार्फत जिम्मेवारी लिएको छ ।

प्रधानमन्त्री सरिफले एक विज्ञप्ति जारी गरी पाकिस्तानी सिनेटका उपनेतासहित सम्पूर्ण घाइतेजनको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । प्रधानमन्त्रीले घाइते सबै जनाको उपचारमा कुनै कमी हुन नदिन प्रशासनलाई निर्देशन दिनुभएको छ ।

घटनामा पाकिस्तानी सिनेटका उपनेता अब्दुल गफुर हैदरी सामान्य घाइते भएको बताइएको छ । उहाँ चढेको कार भने विस्फोटका कारण पूर्णतया जलेर नष्ट भएको छ । विस्फोटमा केही प्रहरी अधिकारीसमेत घाइते भएको बताइएको छ । एपी