Banner News

आचारसंहिता उलङ्घनका घटना रोक्न एमाले अध्यक्षको आग्रह



काठमाडौँ, ३० वैशाख । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएका आचारसंहिता उलङ्घनका घटनालाई नियन्त्रण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएको छ ।

आज एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले संविधान र कानुनबमोजिम आयोग चल्नुपर्ने र ऊ निरीह भएर बस्न नहुने बताउनुभयो ।

पहिलो र दोस्रो चरणका निर्वाचनबीच आफूहरुको असहमतिबीच एक महिनाको लामो ग्याप हुनु, यसबीचमा बजेट रकमान्तर गरिनु, केही जिल्लामा स्थानीय तहको सङ्ख्या थप्न खोज्नु तथा सरकारका मन्त्री र सत्तारुढ दलका नेताले मतदाता प्रभावित पार्ने जस्ता कार्य तत्काल बन्द गर्न माग गर्नुभयो ।

अध्यक्ष ओलीले निर्वाचनले संविधानको कार्यान्वयन र नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आधारभूत तहसम्म पु¥याउने महत्वपूर्ण कडीको भूमिका खेल्ने एवम् निर्वाचनपश्चात् जनताको स्वशासन सुरुआत हुनेछ भन्ने विश्वास व्यक्त गर्दै उहाँले निर्माणका काम तथा जनताको सेवा सुविधाको पहुँचमा नयाँ गति प्राप्त हुनेछ भन्नुभयो ।

“निर्वाचनलाई निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा सम्पन्न गराउनु र प्रत्येक मतदाताको मताधिकार र मतको सुरक्षाको प्रत्याभूति गर्नु निर्वाचन आयोग र सरकारको दायित्व हो, उहाँले भन्नुभयो ।

एमालेले आफ्ना नेता कार्यकर्तालाई लक्षित गरेर स्याङ्जा, नवलपुर, भोजपुर, गोरखा, रसुवा, काभ्रे, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, रामेछापलगायत ठाउँमा हिंसा र आक्रमणका घटना तीव्र पारिएको जनाएको छ ।

सरकार र सत्ताधारी दलबाट हुनसक्ने अनुचित दबाब र प्रभावबाट मुक्त रहँदै संविधान र कानुनले निर्धारण गरेको कर्तव्य निष्पक्षतापूर्वक सम्पन्न गर्न सबै राष्ट्रसेवक, सुरक्षाकर्मी र राज्यका सबै निकायसँग आग्रह गर्दछौँ, अध्यक्ष ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– लोकतन्त्रमा आफ्ना मान्यताको वैधता परीक्षण गर्ने र तिनमा जनताको अनुमोदन प्राप्त गर्ने उपयुक्त विधि निर्वाचन नै हो । त्यसैले विभिन्न असहमति राखेर निर्वाचन प्रक्रियाभन्दा बाहिर रहेका दललाई पनि दोस्रो चरणको निर्वाचनमा उत्साहसाथ सहभागी हुन अनुरोध गर्दछौँ ।

एमालेका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले सत्तारुढ दलका नेता–कार्यकर्ताद्वारा मतदातालाई प्रभावित पार्ने काम भइरहेको आरोप लगाउनुभयो ।