म्याग्दी, १८ जेठ । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा समेत विकास बजेट आधा पनि खर्च हुन सकेको छैन ।
चालु आव २०७३÷७४ मा जिल्लास्थित सरकारी कार्यालयले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि हालसम्म रु ५० करोड २७ लाख चार हजारको अख्तियारी प्राप्त भएको कोष तथा लेखा नियन्त्रक छवीन्द्र बञ्जाडेले बताए।
बुधबारसम्म अख्तियारी प्राप्त भएको कुल बजेटको ४५।५८ प्रतिशत अर्थात् रु २२ करोड ९१ लख ६० हजार खर्च भएको उहाँले बताए । चालु आव सकिन लाग्दा पँुजीगततर्फको रु २७ करोड ३५ लाख ४४ हजार बजेट खर्च हुन बाँकी छ । चालुतर्फ रु दुई अर्ब ३४ करोड ७७ लाख ६८ हजारको अख्तियारी आएकोमा रु एक अर्ब ६९ करोड ७२ लाख ३८ हजार खर्च भएको छ ।
गत चैत १० गतेसम्म अख्तियारी आएको रु ४० करोड ४० लाख १४ हजारमध्ये २९।८० प्रतिशत पुँजीगत खर्च भएको बञ्जाडेले बताउनुभयो । दुई महिनाको अवधिमा रु १० करोड आठ लाख खर्च भएको छ । निर्वाचन, स्थानीय तहको खाता सञ्चालनमा भएको ढिलाइ तथा कर्मचारी व्यवस्थापनको समस्याका कारण अपेक्षाकृत पुँजीगत खर्च हुन नसकेको बञ्जाडेको भनाइ छ ।
निर्वाचन सकिएपछि सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी र रोकिएका विकासका कामले तीव्रता पाएपछि पुँजीगत खर्चको दर बढेको छ । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रु दुई करोड ५० लाखभन्दा बढी खर्च भएको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले वार्षिक बजेटसहित रु ९९ लाख, मुख्य निर्वाचन अधिकृत र पाँचवटा निर्वाचन अधिकृतको कार्यालयले हालसम्म रु एक करोड ६९ लाख खर्च गरेका कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्