काठमाडौं, २३ जेठ । ‘मलाई राजदूतको अफर आएको थियो । मैले त्यो अफर अस्वीकार गरिसकें’, रोल्पाको त्रिवेणी गाउँपालिकाको प्रमुखमा बागी उममेद्वार बन्ने घोषणा गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलानन्द गिरीले भने, ‘पार्टीले मलाई टिकट नै दिएन ।
अब मेरो बागी उम्मेद्वारी हुन्छ ।’ गिरी स्वतन्त्र उम्मेद्वार बन्ने उद्घोषले माओवादी केन्द्रमा मात्र होइन अन्य पार्टीमा समेत चर्चाको विषय बनेको छ । स्थानीय तहको चुनावमा त्रिवेणी गाउँपालिकाको अध्यषको उम्मेद्वार बन्न पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेद्वारी घोषणा गरेका हुन् ।
‘पार्टीले अन्याय गरेकाले मैले बाध्य भएर स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुपरेको हो,’ केन्द्रीय सदस्य गिरीले भने, ‘उम्मेद्वार छनोटमा व्यक्तित्व र योगदानको मूल्यांकनभन्दा पनि नताबाद र कृपावाद हाबी भएपछि मैले बाध्यात्मक रुपमा स्वतन्त्र उम्मेद्वारी घोषणा गर्नुप¥यो ।’
राष्ट्रिय वुद्धिजीवी संगठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका नेता गिरीले पार्टीले अन्याय गरेको जिकिर गरे । त्रिवेणी गाउँपालिका ५ का गिरी जनजागृति उच्च माध्यामिक विद्यालयको प्राचार्य रहेकै बेला माओवादी विदोहमा सामेल भएका थिए । २०६० सालदेखि निरन्तर पार्टीले दिएको जिम्मेवारीमा रहेका उनलाई गाउँपालिकामा समेत उम्मेद्वार बन्न नदिएपछि रोष प्रकट गरे ।
माओवादीको गढ मानिने रोल्पामै केन्द्रीय तहका नेताले बागी उम्मेद्वारी दिने घोषणाले तरंग पैदा गरेको छ । सबै पार्टीलाई उम्मेद्वार टुंगो लगाउन सकस परिरहेकै बेला माओवादी केन्द्रका नेता गिरीले बागी उम्मेद्वार बन्ने घोषणा गरेका हुन् ।
जनयुद्धमा सामेल हुँदा दश वर्षसम्म कुनै लाभको पदमा नबस्ने बाचा गरेका गिरीले भने, ‘शान्तिकालमा राजदूतदेखि नेपाल टेलिभिजनको महाप्रबन्धक बन्न आग्रह हुँदा लाभको पद लिइएन । अहिले गाउाँपालिकाको अध्यक्ष उम्मेद्वार बन्छु भन्दा पार्टीले पन्छायो ।’ जुगारमा पत्रकार सम्मेलन गरि उनले भने, ‘मलाई पार्टीले टिकट दिएर न्याय गर्छ भन्ने आशामा छु । नदिए स्वतन्त्रबाट चुनाव लड्छु । यो मेरो घोषणा भयो ।’ अन्नपूर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्