Banner News

देउवा मुलुकको ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने



काठमाडौं २३ जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने निश्चित भएको छ । नेकपा एमाले संसद्को अवरोध हटाउन तयार भएको छ भने देउवाको पक्षमा स्पष्ट बहुमत पुग्ने गरी दलहरूले समर्थन गर्ने जनाइसकेका छन् । व्यवस्थापिका–संसद्मा आज मंगलबार प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदै छ ।

वर्तमान सत्ता गठबन्धनकै समर्थनमा देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिएका छन् । प्रधानमन्त्रीका एक्ला उम्मेदवार देउवाका पक्षमा नेकपा माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, राप्रपा र संघीय समाजवादी फोरमसहित राजपा नेपालले समेत समर्थन गर्ने बताइसकेका छन् । शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका देउवा संसद्को कार्यतालिकाअनुसार आइतबार नै प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का थियो । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गर्ने निर्णय गरेपछि मुख्य दलका नेताहरू नै सहमति खोज्न छलफल गर्दै अघि बढ्न सहमत भएपछि प्रधानमन्त्री चयन प्रक्रिया दुई दिन सार्दै मंगलबारसम्म लम्ब्याउन सहमत भएका थिए ।

सोमबार मुख्य दलहरूबीच औपचारिक रूपमा नै संसद् सुुचारु गर्ने विषयमा सहमति भएपछि कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवा मुलुकको ४०औं प्रधानमन्त्रीमा निर्वाचित हुने पक्का भएको हो ।