शैक्षिक

महिलाहरुको समानता र सहभागिता प्रबद्र्धन गर्न नयाँ परियोजना



कल्पना बोहरा
अछाम, २३ जेठ । महिलाहरुको समानता तथा सहभागिता प्रबद्र्धनका लागि अछाममा नयाँ परियोजना लागु भएको छ । डान चर्च एडको आर्थिक सहयोग र दलित सेवा संघ अछामको समन्वयमा परियोजना लागु हुने भएको हो ।

जिल्लाका साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकाका वडाहरु तथा त्यहाँ रहेका साविक चार वटा गाविसमा परियोजना कार्यान्वयन गरिने परियोजनाको जिल्ला स्थित परिचयात्मक गोष्ठिका अवसरमा जानकारी गराईएको छ ।

साविकका चण्डीका, बरदादेवी, तिमिल्सैन र कालिकास्थान गाविसमा परियोजनाले काम गर्ने जनाइएको छ । तीन वर्षसम्म सञ्चालन हुने परियोजनालाई पहिलो चरणमा एक वर्षका लागि सम्झौता भएको संस्थाले जनाएको छ ।

४ वटा गाविसमा दलित र महिलारुका लागि समानता तथा सहभागिता प्रबद्र्धन गर्न जातिय बिभेद तथा छुवाछुत, लैंगिक बिभेद तथा हिंसा न्यूनिकरण, समावेशीकरण तथा सहभागिता, बजेट र श्रोतमा पहुंच पुगाँउने, सरकारी सेवा सुविधामा सुधार, बादि र हलियाहरुको पुनःस्थापना गर्ने, सूचनाको हकवारे सचेतना जस्ता क्रियाकलापहरु सञ्चालन गरिने जनाइएको छ ।

परियोजना कार्यान्वयनका लागि पहिलो वर्ष अछाममा ३७ लाख ५० हजार बजेट रहेको छ । उक्त रकम मध्ये २९ लाख ५० हजार अछाममै परिचालन गरिने छ भने ८ लाख दलित सेवा संघ केन्द्रले परिचालन गर्नेछ ।

कार्यक्रममा स्थानिय विकास अधिकारी तोयानारायण सुवेदीले कार्यक्रमको लक्ष उद्देश्य राम्रो रहेको बताँउदै परियोजना सफलताको शुभकामना दिए । उनले परियोजना मार्फत दलित बालवालिकाको उत्थानका लागि पहल गर्न सुझाव दिए । दलित समुदायको परम्परागत पेशाहरुलाई आधुनीकरणका लागि केही गतिविधीहरु गर्न आग्रह गरे ।

स्थानिय तहको संरचना अनुसारका अभ्यासहरु अघि बढाउन सुझाव दिँदै सुवेदीले आफ्नो र जिल्ला समन्वय समितीको तर्फबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता ब्यक्त गरे ।

दलित सेवा संघका केन्द्रिय उपाध्यक्ष टंक विश्वकर्माले परियोजना सबैको साझा भएको भन्दै सफल बनाँउन सबै सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गरे । समाज विकास र समृद्धिको सानो अभियान लिएर दलित सेवा संघ अगि बढेको अवस्थामा सबैवाट सकारात्मक सहयोगको खाँचो रहेको उनले आँैंल्याए ।

कार्यक्रममा नेकपा (एमाले)का जिल्ला सदस्य चन्द्र वोहरा, नेपाल पत्रकार महासंघका अध्यक्ष शिवराज ढुंगाना लगायतले मन्तव्य रारेका थिए ।