काठमाडौं, २४ जेठ । प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिएकी छन । बुधबार उनी ६५ वर्ष पुग्दै छिन । बिदाइका लागि कार्की मंगलबार बिहान बालुवाटार निवासबाट सर्वोच्च अदालत पुगेकी थिइन । सर्वोच्च अदालतमा रहेको आफ्नो च्याम्बरमा न्यायाधीशसँग सामान्य भेटघाट गरी कार्की पौने ११ बजे नै बाहिरिएकी थिइन । तर, उनले न्यायाधीशका लागि मुद्दाको पेसी भने तोकेकी थिइन ।
कार्कीको अवकाशपछि बुधबारदेखि वरिष्ठ न्यायाधीश गोपाल पराजुलीले कायममुकायम प्रधानन्यायाधीशको कार्यभार सम्हाल्नेछन । सर्वोच्च प्रशासन स्रोतका अनुसार औपचारिक बिदाइका लागि सर्वोच्चमा कार्यक्रम गर्ने तयारी भए पनि कार्कीले अस्वीकार गरेकी थिइन। उनले आफ्नो च्याम्बरमा पुगेका न्यायाधीश र केही कर्मचारीलाई शुभकामना दिएर बाटो लागेकी थिइन । उनको बिदाइमा सर्वोच्चमा कुनै रौनक थिएन ।
जाँदाजाँदै आफ्नो एकल निर्णयमा सर्वोच्च अदालतको सचिवालयमार्फत भावी प्रधानन्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाउँदै कार्कीले विवादास्पद निर्णय गरिन । भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका न्यायाधीश गोपाल पराजुली, दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रसमशेर राणा र जगदीश शर्मा पौडेलको नाम संवैधानिक परिषद्मा पठाइएको छ ।
यसअघि प्रधानन्यायाधीशमा सिफारिसका लागि न्यायपरिषद्ले संवैधानिक परिषद्मा नाम पठाउने अभ्यास थियो । कार्कीले परिषद्लाई ‘बाइपास’ गर्दै अन्तिम समयमा आएर न्यायपालिकामा गलत परम्पराको सुरुवात गरेको भन्दै आलोचनासमेत भएको छ ।
उनी पछिल्लो समयमा न्यायपरिषद् बैठक बसाल्नसमेत असफल रहिन । उनको कार्यकालमा सरकार र संसद्सँग न्यायालयको सम्बन्ध चिसियो । आइजिपी नियुक्तिलगायत विवादमा तटस्थ र स्वतन्त्र भूमिकामा रहन नसकेको भन्दै महाभियोगको समेत सामना गर्नुपर्यो । उच्च अदालतका ८० न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात भएको भन्दै सरकारी वकिलले इजलास नै बहिष्कार गरे । अन्नपुर्ण पोस्टमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्