Banner News

राजनीतिक दलसम्बन्धी ऐन पहिलो संशोधन विधेयक बहुमतले पारित



काठमाडौँ, २८ जेठ । व्यवस्थापिका–संसद्को बैठकले राजनीतिक दलसम्बन्धी ऐन पहिलो संशोधन विधेयक, २०७४ लाई बहुमतले पारित गरेको छ ।

आजको तेस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।
यसअघि सो विधेयकको दफाबार छलफलमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एक घन्टाबीचमा तीन वटा बैठक बसी विधेयक संशोधन गर्नुले लोकतन्त्र र प्रजातन्त्रलाई फाइदा पुग्दैन भन्दै विधेयक फिर्ता लिन सरकारसमक्ष माग गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका मीना पुनले स्थानीय तहको निर्वाचनले जनताको अधिकारलाई थप बलियो बनाएको चर्चा गर्दै जनताअघि राजनीतिक दल पछि हुने अवस्था आउन दिनु हुँदैन र दोस्रो तहको निर्वाचन निर्धारित मितिमा सम्पन्न गर्न सरकार अडिग हुनुपर्छ भन्नुभयो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री शर्माले दोस्रो तहको स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिँर्दैै निर्वाचनमा भाग लिन सबै राजनीतिक दलसँग आह्वानसमेत गर्नुभयो ।