Banner News

२ नं प्रदेश को निर्वाचन सार्ने निर्णय प्रति एमालेको आपत्ति



काठमाडौँ १ आषाड । नेकपा एमाले ले यही असार १४ गतेका लागि प्रदेश नं १, २, ५ र ७ मा निर्धारित स्थानीय निर्वाचनमध्ये प्रदेश नं २ को निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।

पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा पटक पटकका वार्तामा आफ्नो दलले कुनै पनि हालतमा निर्वाचन सार्न नहुनेमा जोड दि“दै आएको बताउँदै २ नं प्रदेशको निर्वाचन पछाडि सार्ने निर्णयप्रति आपत्ति प्रकट गरे ।

सुरुमा एकै चरणमा गत वैशाख ३१ का लागि निर्धारित मितिमध्ये चार प्रदेशमा जेठ ३१ मा निर्वाचन गर्ने निर्णयलाई नै पार्टीले शङ्काका दृष्टिले हेरेको उल्लेख गर्दै उनले असार ९ र १४ मा निर्वाचन सार्दा पनि सरकारको उद्देश्य निर्वाचन गराउनमा भन्दा मुलुकलाई अनिश्चततातर्फ लैजानमा केन्द्रित भएको घटनाक्रमले पुष्टि गरेको आरोप लगाए ।

“प्रदेश नं २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैँ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको छ, विज्ञप्तिमा भनिएको छ ।

प्रदेश नं २ मा पार्टीका नियमित काम अघि बढाउन मातहत कमिटीलाई निर्देशन दिँदै पार्टीले प्रदेश नं १, ५ र ७ मा असार १४ गते हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्न जनसमुदाय, पार्टी मातहत कमिटी तथा नेता–कार्यकर्तालाई आह्वान गरेको छ ।