Banner News

चुनाव सार्नु अनुपयुक्त – नेता पौडेल



तनहुँ, ३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नु अनुपयुक्त भएको बताए ।

सरकारले प्रदेश नं २ को निर्वाचन असोज २ गते सार्न गरेको निर्णयप्रति इङ्गित गर्दै नेता पौडेलले भने – राजपाले धोका दिएको भए यसबारेमा समीक्षा हुनुपथ्र्यो ।

तराईका जनतालाई स्थानीय तहको निर्वाचनका बारेमा बुझाउन जरुरी भएको बताउँदै नेता पौडेलले भने – त्यस क्षेत्रका नेताहरुले स्थानीय तहको निर्वाचनबाट हुने फाइदाका बारेमा राम्रोसँग बुझाउन आवश्यक छ ।

पहिलो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले गुरुयोजना बनाई काम गर्नुपर्ने सुझाव पनि उनले दिए ।

नेता पौडेलले भने – पहिलो चरणको निर्वाचनमा काँग्रेस दोस्रो स्थानमा रहन पुगेकाले अब हुने दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनाउनुपर्छ । यसका लागि तल्लो तहबाटै काँग्रेसलाई दबाब दिनुपर्छ, जय जयकार गरेर मात्रै हुँदैन ।